सिलाइ कटाइ व्यवसायमा महिलाको आकर्षण

0
Shares

दाङ, ७ वैशाख । पछिल्लो समयमा सिलाइ कटाइ व्यवसायमा यहाँका महिलाको आकर्षण बढेको छ ।

थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि महिलाको सिलाइ कटाइ व्यवसायमा आकर्षण बढेको हो । धेरैजसो पढाइ छाडेर बसेका किशोरी यस पेसामा आबद्ध रहेका छन् । मासिक रु ३० हजारसम्म आम्दानी हुने गरेको उनीहरु बताउँछन् ।

“सबै खर्च कटाएर दैनिक रु एक हजार आम्दानी हुन्छ,” मानपुरका रामकली वलीले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका–५ का कल्पना शर्माले विगत १० वर्षदेखि सिलाइ कटाइ केन्द्र सञ्चालन गर्नुभएको छ । उहाँले सीप सिक्न चाहने महिलालाई तालिम दिँदै आउनुभएको छ । अहिले उहाँको तालिम केन्द्रमा ४० वटा मेसिन छन् ।

शर्माले यही पेसाबाट घरखर्च चलाउनुभएको छ । उहाँले भन्नुभयो – “मैले धेरै बेरोजगार महिलालाई सीप सिकाएकी छु । सिलाइ केन्द्रमा अहिले ५० जना महिलाले सीप सिकिरहनुभएको छ । विभिन्न क्षेत्रमा काम गरी जागिर छाडेका महिला सिलाइ कटाइ सिक्न आफ्नो केन्द्रमा आउने गरेको उहाँले बताउनुभयो ।

पढ्दापढ्दै सानै उमेरमा बिहे गर्नुभएका नमिता केसी अहिले सिलाइ कटाइको काम सिकिरहनुभएको छ । सीप सिकेर आत्मनिर्भर बन्ने उद्देश्य लिएर आएकी केसीले भन्नुभयो – “नपढे पनि सीप सिके केही गर्न सकिन्छ ।” रासस