गेलको नयाँ विश्व कीर्तिमान

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति क्रिस गेलले नयाँ विश्व कीर्तिमान रचेका छन्।

रोयल च्यालेन्जर्स बैंगलोरका ब्याटसम्यान गेलले गुजरात लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै १० हजार रन बनाएर कीर्तिमान रचेका हुन्। वेस्ट इन्डिज खेलाडी गेलले हरेक स्तरका टी २० क्रिकेट करिअरमा १० हजार रन पनि पूरा गरे। यो फरम्याटमा १० हजार रन बनाउने उनी पहिलो विश्वका ब्याटसम्यान बने। उनले टी २० मा २ सय ९० खेलमा १० हजार ७४ रन बनाएका छन्। उनको स्ट्राइक रेट १४९.५१ रहेको छ।

गेल २३ बलमा अर्धसतक पूरा गरेपछि ३८ बलमा ७७ रन बनाउँदै आउट भए। गेलले ५ चौका र ७ छक्का प्रहार गरे भने रवीन्द्र जडेजाको एकै ओभरमा दुई चौका र २ छक्का हान्दै २१ रन बटुलेका थिए।

उनको टी २० मा उच्चतम रन १ सय ७५ हो भने उनले सो स्कोर आईपीएलमै बनाएका थिए। टी २० करिअरमा गेलले अहिलेसम्म १८ सतक र ६१ अद्र्धसतक प्रहार गरेका छन्। उनले ७ सय ६९ चौका र ७ सय ४३ छक्का प्रहार गरिसके।

उनकै सहयोगले रोयल च्यालेन्जर्सले गुजरात लायन्सलाई २१ रनले हराएको थियो। विजेता टोलीले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १३ रन बनाउँदा विराट कोहलीले अद्र्धसतक पूरा गरेका थिए। कोहलीले ५० बलमा सात चौका र एक छक्काको सहयोगमा ६४ रन जोडेका थिए।

जवाफमा गुजरात लायन्स २० ओभरमा ७ विकेटको नोक्सान बेहोरेर १सय ९२ रनमा समेटिएको थियो। जसमा ब्रेन्डन म्याककुलमले ४४ बलमा ७२ रन बनाए पनि जित दर्ता गर्न सकेन। उनले सात छक्का र दुई चौका प्रहार गरेका थिए। त्यस्तै इसान किसनले १६ बलमा चार छक्का र दुई चौकाको सहयोगमा ३९ रन बनाए।