ललितपुर, ६ वैशाख । स्थानीय भिन्छे बहाल टोलका ४८ वर्षीय सानुभोजु बज्राचार्यले मूर्ति बनाउन थालेको ३५ वर्ष नाघ्यो । उहाँले हजुरबुबा नन्दमुनिबाट मूर्ति बनाउन सिक्नुभएको हो । माग थोरै तर व्यवसायीको सङ्ख्या बढेपछि मूर्ति बनाउने व्यवसाय सङ्कटमा परेको बज्राचार्य बताउनुहुन्छ ।
“घाटा लाग्न थालेपछि छोराछोरीले व्यवसाय परिवर्तन गर्न दबाब दिन थालेका छन्,” उहाँले भन्नुभयो । उहाँले गौतमबुद्ध तथा विभिन्न देवीदेवताका मूर्ति बनाउनुहुन्छ । उहाँले बनाउँदै आएका मूर्ति सबै ढुङ्गाका हुन् । बाजेको पालासम्म मूर्ति बिक्री गर्न ग्राहक उहाँको घरसम्मै आउने गरेका थिए । तर अहिले भने बज्राचार्यले पसल समेत राख्नुभएको छ ।
“पसलको भाडा महँगो छ, पहिला घरबाटै बिक्री गर्दा नाफा हुन्थ्यो,” बज्राचार्यले भन्नुभयो । मूर्ति बनाउन आवश्यक कच्चा पदार्थ बजारमा सहजै उपलब्ध हुने गरेको उहाँ बताउनुहुन्छ । बज्राचार्यले रु ५०० देखि रु एक लाख मूल्य पर्ने ढुङ्गाका मूर्ति बनाउने गर्नुभएको छ । ती सबै मूर्ति उहाँले आफ्नै घरमा निर्माण गर्दै आउनुभएको छ । मूर्ति निर्माण गर्न उहाँले चार जना कामदार समेत राख्नुभएको छ । रासस
प्रतिक्रिया