फाइनलको लागि भिड्दै रूपन्देही र विराटनगर


्नेपाल समाचारपत्र
काठमाडौं
धनगढी प्रिमिएर लिग (डीपीएल) अन्तर्गत बुधबारबाट प्लेअफ चरणको खेल शुरू हुने भएको छ। आज हुने पहिलो क्वालिफायर खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस भिड्दैछन्।

लिग चरणमा पाँचमध्ये चार खेल जितेर रूपन्देही च्यालेन्जर्सले शीर्ष स्थानका साथ प्लेअफमा स्थान बनाएको हो। उता विराटनगर किंग्सले भने पाँच मध्ये तीन खेलमा जित हात पारेर लिगमा दोस्रो स्थान हात पारेको थियो। रूपन्देहीले लिगको अन्तिम खेलमा पारस खड्काको टिम चौराह धनगढीलाई नतिजा सुम्पेको थियो। यो नतिजाले नै झण्डै बाहिरिसकेको पारसको टोलीले प्लेअफ खेल्ने तय गरेको हो।

उता विराटनगर किंग्सले लिगमा रूपन्देही च्यालेन्जर्ससँग हार बेहोरेको थियो। आज हुने खेलमा बदला लिने सुर भएको पनि कप्तान सरदको लक्ष्य रहेको बताइएको छ।

पहिलो क्वालिफायर्स जित्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीको लागि पनि एक मौका आउनेछ। एलिमिनेटरको विजेतासंग फाइनल प्रवेशका निम्ति दोश्रो क्वालिफायर्स खेल्न पाउनेछ। एलिमिनेटरमा पारस खड्काको धनगढी टिम चौराह र वसन्त रेग्मीको काठमाडौं गोल्डेन्सबीच बिहीबार खेल हुनेछ।

यसअघि लिगमा रूपन्देही च्यालेन्जर्सले विराटनगर किंग्सलाई सहजै ६१ रनले हराएको थियो। टोलीको जितमा बलर हावी बनेका थिए। पहिलो ब्याटिङ गरेको रूपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। हेर्दा सहजै देखिएको लक्ष्य विराटनगर किंग्सले पछ्याउन सकेन। टोली ७१ रनमै अलआउट भएको थियो। रूपन्देहीका सहाव आलमले १९ रन खर्चेर चार विकेट लिएका थिए।