युनाइटेडद्वारा चेल्सी पराजित


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित भएको छ।

आइतबार राति म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली चेल्सी २–० ले पराजित भएको हो। खेलको सातौं मिनेटमै मार्को रासफोर्डको गोलमार्फत् युनाइटेडले अग्रता लिएका थिए। दोस्रो हाफको चौथो मिनेटमा एन्डर हरेराले युनाइटेडका लागि दोस्रो गोल गरे। लिग लिडर चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।

३१ खेलबाट युनाइटेड ६० अंकसहित पाचौं स्थानमा छ। यता पराजयसँगै चेल्सीले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाउने अवसरलाई गुमायो। जसका कारण उपाधि दौडको दोस्रो स्थानमा रहेको टोटनह्यामले चेल्सीलाई चुनौती दिन थालेको छ। लिग तालिकामा ३२ खेलबाट चेल्सीको ७५ र टोटनह्यामको ७१ अंक छ।
प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको अर्को खेलमा लिभरपुलले वेस्टब्रोमलाई १–० ले पराजित गर्यो। वेस्टब्रोमको घरेलु मैदानमा भएको खेलमा ब्राजिलियन फर्मिनोले पहिलो हाफको अन्तिममा गरेको गोल नै निर्णायक सावित बन्यो।

खेलको अन्तिम समयमा कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका अबर्ट मोरेनोले खाली पोस्टमा पनि गोल गर्नबाट चुकेका थिए। जितसँगै ३३ म्याच खेलेको लिभरपुल ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ।