आर्मी र एपीएफलाई भलिबल उपाधि


नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न पुरुषतर्फ फाइनल खेलमा आर्मीले लिगमा अपराजित बनेको टोली नेपाल पुलिस क्लबलाई ३–० सेटले हराएर उपाधि हात पार्यो। यसअघि सम्पन्न महिलातर्फ फाइनल खेलमा एपिएफले न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमै हराएर उपाधि पक्का गरेको हो।
लिगमा लगातार जित हासिल गरेको पुलिसमाथि आर्मीले शुरूआतदेखि नै दबाब सिर्जना गरेको थियो। आर्मीले पहिलो सेट २५–१८ ले जित्यो भने दोस्रो सेट २५–१६ ले जितेको थियो। तेस्रो सेटमा आर्मीले पछि परेर पनि २७–२५ ले जितेपछि पहिलो पुरस्कार २ लाख नगद सुरक्षितसमेत गर्यो।

यस्तै महिलातर्फ एपिएफले न्यु डायमन्डमाथि २६–२४, २५–१५ र २५–२३ को सेटमा जित निकालेर २ लाख रुपियाँ हात पार्यो। दोस्रो भएको पुलिस र न्यु डायमन्डले १–१ लाख प्राप्त गरे। तेस्रो स्थानमा रहेकोे हेल्प नेपाल र पुलिसले ५०–५० हजार तथा चौथो भएको एपीएफ र पश्चिमाञ्चल टप्सले २५–२५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट र महिलातर्फ नेपाल एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। उनीहरूले समान १५–१५ हजार प्राप्त गरे। यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लबका इम राना मगर सेटर, आर्मीका ईश्वर थापा डिफेन्स, पुलिसका कुलबहादुर थापा स्पाइकर, आर्मीका मानबहादुर श्रेष्ठ सर्भर, हेल्प नेपालका सञ्जुविक्रम शाह ब्लकर र आर्मीका जगदीश भट्ट उत्कृष्ट प्रशिक्षक चुनिए।

महिलातर्फ पश्चिमाञ्चल टप्सकी अरूणा शाही सर्भर, एपीएफकी उषा विष्ट ब्लकर, न्यु डायमन्डकी प्रतिभा माली स्पाइकर, पुलिसकी कमला पुन डिफेन्स, आर्मीकी जानकी भण्डारी सेटर र एपीएफका प्रकाश थपलिया उत्कृष्ट प्रशिक्षक चुनिए।

उनीहरूले समान ५–५ हजार प्राप्त गरे। दुवै विधाका विजेतालाई युवा तथा खेलकुदमन्त्री दलजित बीके श्रीपाइली, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कृत गरे।