फेरि स्वाइनफ्लु



भगवती तिमिल्सिना,काठमाडौं

पछिल्लो समय स्वाइनफ्लुको प्रकोप नेपालमा पनि देखिँदै आएको र दुई वर्षपछि सामान्य समस्याजस्तै भएर जाने विश्व स्वास्थ्य संगठनले भन्दै आएको भए पनि काठमाडौंमा पुनः एक जना ज्वरो आएर भर्ना भएका बिरामीमा स्वाइनफ्लु देखापरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा झण्डै दुई साताअघि ज्वरो आएर भर्ना भएका एक बिरामीमा स्वाइनफ्लु देखिएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो। उहाँले नेपालमा हाल देखापरेको स्वाइनफ्लु कुन खालको हो भन्नु भन्दा पनि भारतमा र नेपालमा पहिला क्यालिफोर्निया स्टेन्थको स्वाइनफ्लु देखापरेको बताउनुभयो।

तर भारतमा सन् २०१६ को अन्त्यतिर नयाँ खालको स्वाइनफ्लु भित्रिएकाले नेपालमा पनि भित्रिन सक्छ भन्ने विषयमा नीति निर्माताहरूले ध्यान दिनुपर्ने भएको छ। अहिले आएको नयाँ खालकोे स्वाइनफ्लु मिचिगन प्रजातिको कति खतरा छ र क्यालिफोर्निया स्टेन्थका लागि भित्याएको भ्याक्सिनले काम गर्छ या गर्दैन, विश्व स्वास्थ्य संगठनले के कस्तो निर्देशन दिएको छ भन्नेबारेमा नेपालका चिकित्सकलाई पूर्ण जानकारी छैन। त्यसैले रोग यदि भित्रियो भने के गर्ने भन्ने बारेमा अन्योलको अवस्था रहेको डा. पुन बताउनुहुन्छ।

विगतमा पनि खुला सिमानाकै कारण स्वाइनफ्लु जाजरकोटमा भारतबाट नै भित्रिएको थियो र अहिले पनि उच्च जोखिममा नेपाली परेका छन्। भारतको पुने इन्टिच्युट अफ भाइरोलोजीमा गरिएको अनुसन्धानले नयाँ स्वाइनफ्लुका कारण भारतमा धेरैको ज्यान गएको उल्लेख छ।

तर नेपालमा भने यसबारेमा संकेतसमेत नहुँदा निकै अन्योलको अवस्था रहेको उहाँले बताउनुभयो।

नेपालमा हालसम्म कुनै त्यस्ता अनुसन्धान पनि नभएको र रोग भित्रिए नभित्रिएको पनि ज्ञान नभएको अवस्थामा एकै पटक धेरै बिरामी आए के गर्ने भन्ने तयारी गर्नु र सचेत हुनु जरुरी रहेको विज्ञहरूले बताएका छन्।

यो रोग लाग्दा ज्वरो आउने, रुघा लाग्ने, घाँटी दुख्ने, छाती दुख्नेजस्ता समस्या देखा पर्छ। तर लामो समयदेखि औषधि सेवन गरिरहेका, दम, खोकी, अंग प्रत्यारोपण गरेका व्यक्ति, एचआईभी संक्रमित, बालबालिका, सुत्केरी तथा गर्भवती महिलाहरूलाई बढी जोखिम हुने हुनाले सामान्य रुघाखोकी हो भनेर नबसी चिकित्सकको सल्लाह लिन डा. पुन सल्लाह दिनुहुन्छ।

कतिपय अवस्थामा चिकित्सकहरूले पनि सामान्य रुघाखोकी हो निको हुन्छ भन्नु भन्दा पनि समय र संक्रमणलाई ध्यानमा राखेर काम गर्नका लागि नीति निर्माण तहबाट नै मार्गनिर्देश हुनु आजको आवश्यकता भएको डा. पुनको ठम्याइ छ।
भारतको महाराष्ट्रमा नयाँ खालको स्वाइनफ्लुका कारण धेरैको ज्यान गइसकेको अवस्थामा नेपाल सरकार, आम नेपालीहरू समयमै सचेत हुनुपर्छ भने उपचारका लागि स्वास्थ्य संस्थाहरू पनि तयारी अवस्थामा रहनका लागि सरकार र विश्व स्वास्थ्य संगठनको ध्यान जानु जरुरी रहेको डा. पुन बताउनुहुन्छ।

हाल टेकु अस्पतालमा उपचाररत बिरामीको अवस्था सामान्य रहे पनि अन्य व्यक्तिहरूमा के कस्तो अवस्था छ भन्नेबारेमा बाहिर आइनसकेको अवस्थामा सचेत हुन उहाँको सुझाव रहेको छ। चिकित्सकको सल्लाह लिएर समयमै उपचार गरे स्वाइनफ्लु निको हुन्छ।

प्रतिक्रिया दिनुहोस्