स्कुले बच्चालाई कति किलोको झोला ?


ईश्वरराज ढकाल, काठमाडौं
‘सबै किताब नलगे त मलाई सरले गाली गर्नुहुन्छ। सबै किताब हालिदिनुस् न। नत्र म त स्कुल नै जान्नँ’ प्रायः अभिभावकका छोराछोरीले विद्यालय जाने बेलामा यसै भनेर कचकच गर्ने गरेको पाइन्छ।

विद्यालयका शिक्षकले पनि पढाइ हुने होस् वा नहुने विषय, सबै किताब बोकेर आऊ भनेर दबाब दिने गरेका छन्। त्यसैले विद्यालय जाने बालालिकाहरू एउटा झोलाले नपुगेर दुुईवटा झोला बोक्न बाध्य हुने गरेका छन्। ‘जमाना कहाँ पुगिसक्यो तैपनि भएभरको किताब बोकेर आऊ भन्छ, अहिले पनि विद्यालयले यस्तै दुःख दिन थालेको छ।’ –अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ।

विद्यालयले अति गर्न थालेपछि शिक्षा विभागले सबै क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई कडा निर्देशन दिएर त्यसो नगर्न भनेको छ। ‘तपाईंहरू अनुगमन गर्नुस्। बढी भारी बोकाउने विद्यालयलाई कारबाही गर्नुस्।’ –शिक्षा विभागले यही वैशाख १ गते परिपत्र गरी कक्षा १ देखि ५ का लागि पाठ्यसामग्री र खाजासहित बढीमा ४ किलोसम्म, कक्षा ६ देखि ८ सम्मकोे लागि बढीमा ६ किलो र माध्यमिक तहका लागि बढीमा ८ किलोसम्मको मात्र झोला बोक्ने व्यवस्था गर्न पत्राचार गरेको छ।

नर्सरीदेखि केजी कक्षा पूर्वप्राथमिक) सम्मका बालबालिकाका लागि पाठ्यसामग्रीसहितको झोला बोक्न निरुत्साहित गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ। जिल्ला शिक्षा कार्यालय काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यले संस्थागत विद्यालय मापदण्ड निर्देशिकामा भएको विषय उल्लेख गरी जारी गरेको परिपत्र लागू गराउन सबै सरोकारवालालई निर्देशन दिएको बताउनु्भयो।

‘अब केही दिनपछि विद्यालयका विद्यार्थीको झोला जोख्छौं सरकारले तोकेभन्दा बढी भारी बोकाएको भए कारबाही प्रक्रिया अघि बढाउनेछौं। शिक्षा विमागले निर्देशन दिएलगत्तै सबै विद्यालय निरीक्षक र स्रोत व्यक्तिको बैठक बोलाएर झोलालगायत अन्य विषयमा अनुगमन गर्न निर्देशन दिइसकेका छौं।’ –उहाँले भन्नुभयो।

बढी भारी बोकाउँदा कलिला बालबालिकाका ढाड कुप्रो हुने, हड्डी खिइनेलगायतका स्वाथ्यमा समस्या पर्ने भएकाले विद्यार्थीले बोक्ने पुस्तकको तौल कायम गरेको विभागले जनाएको छ। विभागका महानिर्देशक बाबुराम पौडेलले दिएको निर्देशन जिल्ला शिक्षा कार्यालयहरूले पालाना गरे वा नगरेको भन्ने विषयमा विभागले अनुगमन गर्ने बताउँदै भन्नुुभयो– ‘सरकारले दिएको निर्देशन सबै विद्यालयले पालना गर्नैपर्छ।’

ललितपुरका जिल्लाशिक्षा अधिकारी दिलनाथ पुरीले विभागले दिएको निर्देशनअनुसार अनुगमन शुरु गरिने उल्लेख गर्दै भन्नुभयो– ‘हामी आजैबाट विद्यालयको अनुगमन गरेर बढी भारी बोकाउने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउनेछौं।’

धेरै प्रकाशनको पुस्तक खरिद गर्न लगाएर भारीका भारी पुस्तक बोक्न लगाउने विद्यालयलाई कारबाहीको दायरामा ल्याउने जानकारी गराउँदै काठमाडौंका जिशिअ आचार्यले राष्ट्रिय पाठ्यक्रमको आधारमा पढाउने बानीको विकास गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

अब साना बच्चालाई पुस्तक बोक्न रोक लगाउनुपर्छ अभिभावक संघका पूर्वअध्यक्ष भण्डारीले भन्नुभयो। प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले सरकारले तोकेको मापदण्डको आधारमा विद्यार्थीलाई पुस्तक प्रयोग गर्न लगाउने बताउनुभयो। यस्तै विभागले विद्यालय परिसरबाट पाठ्यपुस्तक बिक्री–वितरण रोक्नसमेत सबै निकायलाई निर्देशन दिएको छ। मनपरीरूपमा शुल्क असुलेको उजुरी पर्न थालेपछि विभागले सबै जिल्ला शिक्षा कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएको छ।

विभागका महानिर्देशक पौडेलले निजी विद्यालयले मनोमानी गर्न थालेपछि सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको बताउनुभयो।

विभागले नेपाल सरकारले तोकेबमोजिम शिक्षकलाई तलब तथा सेवा सुविधा दिनुपर्ने, अनियमितरूपमा विद्यालय सञ्चालन गरी शुल्क असुल्ने, विधि र प्रक्रिया पूरा नगरी छात्रवृत्ति वितरण गर्ने, अनियमित तरिकाले पाठ्यपुस्तक तथा शैक्षिक सामग्री खरिद–बिक्री तथा प्रयोग गर्न बाध्य गराउनेलगायतका सम्पूर्ण क्रियाकलाप रोक्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ।