राष्ट्रपति दिल्लीमा,शैलीमा असन्तोष


नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेश भ्रमणअन्तर्गत भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुग्नुभएको छ।

राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ। त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उहाँलाई स्वागत गर्नुभएको थियो। राष्ट्रपति भण्डारीलाई विमानस्थलबाट सोझै राष्ट्रपति भवनतर्फ लगिएको थियो।

यसअघि भारतका राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गरेका बेलामा नेपालका राष्ट्रपति भण्डारीले नै विमानस्थलमा स्वागत गर्नुभएको थियो।

राष्ट्रपति भण्डारीसँग सोमबार दिउँसो नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी, र राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले अलग–अलग भेट गर्नुभएको थियो। राष्ट्रपति भण्डारीसहित नेपाली टोलीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले सोमबार साँझ रात्रिभोजको आयोजना गरेको थियो।

राष्ट्रपति भण्डारी आज मंगलबार भारतीय राष्ट्रपति कार्यालयमा आयोजना हुने रिसेप्सनमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसलगत्तै राष्ट्रपति भण्डारी र मुखर्जीबीच शिष्टाचार वार्ता हुने बताइएको छ। राष्ट्रपतिको सम्मानमा मुखर्जीले मंगलबार दिउँसो दिवाभोजको आयोजना गर्नुभएको छ।

राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि सोमबार बिहान नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको हो। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवं संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो। राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो। राष्ट्रपति प्रस्थान गर्दा सोमबार बिदा दिइए पनि आउँदो शुक्रबार फर्कंदा दिने भनिएको बिदा भने सरकारले फिर्ता लिएको छ।
शैलीमा असन्तोष
राष्ट्रपति विद्या भण्डारीको पहिलो विदेश भ्रमणका क्रममा सार्वजनिक बिदा दिनुनपर्ने अवस्था भए पनि सरकारले जाँदा र आउँदा नै बिदा दिने निर्णय गरेकामा व्यापक आलोचना भयो। यही कारणले आउँदो शुक्रबार फर्कंदा दिने भनिएको बिदा सरकारले फिर्ता लिइसकेको छ। अर्कातर्फ राष्ट्रपतिले बिदा नदिनु भनेको तर नेपालकै सरकारले नटेरेको भानसमेत पारिएको छ।

उच्च कूटनीतिक स्रोतले भन्यो– ‘पहिला भारतका राष्ट्रपति आउँदा बिदा दिन जरुरी नै थिएन। सरकारले कहिले हो कहिले आउने चीनका राष्ट्रपतिको नाममा पनि बिदा दिने भन्यो। अहिले पनि बिदा दिन जरुरी थिएन। अझ राष्ट्रपतिले भनेको पनि टेरेन भन्ने अरूलाई परेको छ। अलि ढंग पुगेन। यसले गर्दा उच्चस्तरीय भ्रमण गराउने हाम्रो क्षमतामा नै प्रश्न उब्जिएको छ।’

भारत भ्रमणका क्रममा विमानस्थलमा कसले स्वागत गर्ने भन्ने कुरा भ्रमण तालिका तयार पार्दै पहिला नै तय हुन्छ। भ्रमण तालिकामा जेसुकै लेखिएको भए पनि कहिलेकाहीँ भारतका उच्च अधिकारीहरूले त्यो कुरालाई छोडेर उच्च तहबाट नै स्वागत गरिएको समेत पाइन्छ।

जस्तो कि सन् २००६ मा जनआन्दोलन–२ पछि भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले स्वागत गर्नुभएको थियो।

अघिल्लो साता बंगलादेशका प्रधानमन्त्री शेख हसिना भारत भ्रमणमा जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नै जानुभएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहीअघि गर्नुभएको भारत भ्रमणका क्रममा मन्त्रीबाट उहाँको स्वागत भएको थियो भने तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई गएको बेलामा राज्यमन्त्रीले स्वागत गरेका थिए।

‘भारतले तत्कालीन परिस्थितिअनुसार भ्रमणमा आउनेको स्वागत गर्ने गरेको छ। भ्रमण कस्तो खालको हो त्यसमा भर पर्छ’ –भारतको कूटनीतिक मामिला बुझेका एक कूटनीतिज्ञले भने। उनले एक प्रसंगमा भने– ‘तत्कालीन राजा महेन्द्र उपचारका लागि २०२६ सालमा बेलायत जाने क्रममा त्यतिबेलाको भारतको पालम अन्तर्राष्ट्रिय विमानस्थलमा २ घण्टा ट्रान्जिटमा बस्नुपरेको थियो। त्यतिबेला भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी विमानस्थलमै भेट्न गएकी थिइन्। उनीहरूले कहिलेकाहीं ‘सरप्राइज’ दिने गर्छन्।’

‘राष्ट्र प्रमुखलाई राजकीय भ्रमणको निम्तो दिएको भारतले कम्तीमा पनि भारतीय विदेशमन्त्रीले विमानस्थलमा स्वागत गर्ने वातावरण मिलाएको भए सन्देश जान्थ्यो’ –पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालसँग राष्ट्रपतिको भ्रमणका बारेमा जिज्ञासा राख्दा उहाँको भनाइ थियो– ‘खोई यो परराष्ट्रमन्त्रीले के गर्नुभएको हो ? उहाँले जान्ने कुरा हो।’