निर्वाचन अधिकृतको कार्यालय खुल्यो


ताप्लेजुङ, (नेस)
स्थानीय तहको निर्वाचनका लागि आइतबार ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ।

जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएसँगै ताप्लेजुङमा जिल्ला अदालतमै मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने भएको हो। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले अदालतको काम कारबाहीमासमेत प्रभाव नहुने गरी जिल्ला अदालतमै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए।

कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ।

प्रकाशित कार्यक्रमअनुसार वैशाख १७ गते बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म मनोनयनपत्र दर्ता हुनेछ, सोही दिन साढे ५ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ। १७ गते १० बजेदेखि १ बजेभित्रमा उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिनेछ।

प्राप्त उजुरीका बारेमा निर्वाचन अधिकृतको कार्यालयले १८ गते साढे ११ बजेसम्म जाँचबुझ गर्नेछ। जाँचबुझपछि १८ गते साढे ११ बजे देखि १ बजेभित्रमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ। उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १८ गते दिउँसो १ बजेदेखि बेलुकी ४ बजेसम्मको समय पाउने भएका छन्।