टोटनहाम चेल्सीलाई पछ्याउँदै

0
Shares

लन्डन, (एजेन्सी)
टोटनहामले इंग्लिस प्रिमियर लिगअन्तर्गत लगातार सातौं जित हात पारेर शिर्ष टोली चेल्सीलाई पछ्याइरहेको छ।

शनिबार भएको खेलमा टोटनहामले बाउर्नमाउथलाई ४–० गोलअन्तरले हराएर चेल्सीसँग ४ अंकको दूरी बनायो। टोटनहामको ३२ खेलबाट ७१ अंक रहेको छ भने एक खेल कम खेलेको चेल्सीसँग ७५ अंक छ। यस सिजनको प्रिमियर लिग उपाधि जित्न नजिक पुगेको चेल्सीले आज खेल्दै छ।

पहिलो हाफमै २–० को अग्रता लिएर टोटनहामले स्पष्ट ३ अंक छनक देखाएको थियो। मौसा डेम्बलले क्लोज रेन्जमा गोल गरेर १६औं मिनेटमा टोलीलाई १–० को अग्रता दिलाए। ३ मिनेटपछि सन हिउङ मिनले अग्रता दोब्बर पारेका थिए। यो उनको अघिल्ला पाँच खेलमा आठौं गोलसमेत थियो। त्यसपछि दोस्रो हाफमा हेरि केन र भिन्सेन्ट जान्सेनले एक–एक गोल थप्दा टोटनहामले फराकिलो जित हात पार्यो। केनले ४८औं मिनेटमा र जान्सेनले अन्तिममा इन्जुरी समयमा गोल गरेका थिए।

केनको यो महिनामा पहिलो खेल थियो। २३ वर्षीय स्ट्राइकर प्रिमियर लिगको तीन लगातार सिजनमा २० गोल गर्ने चौथो खेलाडीसमेत बने।

यसअघि यस्तो उपलब्धि हासिल गर्नेमा एलान सिरर, रुड भान निस्टेलरुए र थिएरि हेनरी थिए। आज हुने खेलमा यदि म्यानचेस्टर युनाइटेडसँग चेल्सी रोकिएमा टोटनहामको लागि उपाधि जित्ने आशा पनि बन्न सक्नेछ।