कोलकाता शिर्ष स्थानमा


नयाँदिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १७ रनले हराएको छ।

टस हारेर ब्याटिङ गरेको कोलकाता ४ खेलमा तेस्रो जित हात पार्दै शिर्ष स्थानमा उक्लियो। टोलीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ७२ रन जोेडेको थियो। घरेलु मैदान इडेन गार्डेन्समा टोलीका लागि रोविन उथप्पा र मनिष पाण्डेले सानदार ब्याटिङ गरे।

उथप्पा र पाण्डेले तेस्रो विकेटका लागि ७७ रन साझेदारी गर्नु नै टोलीले बलियो स्कोर बनाएको थियो। उथप्पाले ३९ बलमा ५ चौका र ४ छक्कासहित ६८ रन जोड्दा पाण्डे भने लगातार दोस्रो अर्धशतक बनाउन ४ रनले चुकेका थिए। उनले ३५ बलमा ४६ रन बनाएका थिए।
जवाफमा हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षेतिमा १ सय ५५ रन मात्रै बनाएको थियो। ओपनर शिखर धवनलाई युसुफ पठानले आउट गरेपछि हैदरावादले लगातार विकेट गुमाउन पुगेको थियो।

कुनै पनि विकेटका लागि ठूलो साझेदारी पनि हुन नसक्दा हैदरावाद लक्ष्यबाट केही रनले पछाडि परेको थियो। टोलीका लागि कप्तान डेविड वार्नर र युवराज सिंहले २६–२६ रन बनाएका थिए।