कालिकोटका अधिकांश गाउँमा खानेपानीको अभाव


कालीबहादुर मल्ल, कालिकोट
ल्लाका अधिकांश ग्रामीण विकट क्षेत्रमा खानेपानीको अभाव भएको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नुपरेको हो।

विकासका पूर्वाधारमध्येकै समस्याका रूपमा खानेपानी देखिएको कोटवाडा–४ का धनबहादुर विष्टले बताए। ‘जिल्लामा एक दर्जनभन्दा धेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भए पनि नरहरिनाथ गाउँपालिका र पलाता गाउँपालिकामा खानेपानीको निकै समस्या रहेको छ’, उनले भने– ‘गाउँमा पिउने पानी छैन। स्वास्थ्य संस्थामा उस्तै हालत छ।

गाउँमा पानीको अवस्थाले गर्दा निकै नाजुक छ।’

नरहरिनाथ गाउँपालिकोको कोटबाडाको स्वास्थ्य चौकीमा बिग्रिएको धारा मात्र छ। बिरामी र स्वास्थ्यकर्मीलाई पानी चाहियो भने गाउँमा गएर ल्याउनुपर्ने अवस्था रहेको विष्टले बताए। ‘सरसफाइको कुराभन्दा पनि पिउने पानी नै घरबाट बोकेर ल्यानुपर्ने बाध्यता रहेको छ’ –उनले भने।
त्यस्तै, सान्नी त्रिवेणी गाउँपालिकाको रकुमा रित्ता धाराहरू छन्। पानीको निकै अभाव छ। साविकको रकु–३ र ४ वडाका ८० घरधुरीका स्थानीयबासीले खानेपानी अभाव झेल्नुपरेको छ।

दलित समुदाय भएको यो गाउँमा पानीको हाहाकार स्थानीय शिक्षक लालबहादुर गिरीले बताए। ‘गाउँमा पिउने पानीको चरम अभाव छ’, उनले भने– ‘विद्यालयमा बालबालिकाले पिउने पानी पाएका छैनन्।’
जिल्लाको पलाता गाउँपालिकाको धौलागोह र खिन गाउँमा पनि पानीको निकै अभाव छ। वनजंगल नभएको सुख्खा क्षेत्र भएका कारणले पनि पानीको अभाव हुने गरेको हो।

विगत लामो समयदेखि यहाँका स्थानीय पानीको अभाव झेल्दै आएको स्थानीय समाजसेवी सुमन बमले बताए। ‘पलाता गाउँपालिकामा पानीको सधैं अभाव हुने गरेको छ’, उनले भने– ‘पानीका लागि रातभरि हिँडेर कर्णाली नदीको पानी लिन जानुपर्ने अवस्था छ।’
जिल्लाको खानेपानीको अवस्थालाई सहज गरी ग्रामीण क्षेत्रमा पहुँच पु¥याउने आफू प्रतिबद्ध रहेको खानेपानी सरसफाइ तथा सब–डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद पौडेल बताए। ‘पानी अभाव नहुने गरी योजना बन्दै छ। हाल सबै ठाउँमा पानीको अभाव भएको छैन। केही गाउँमा मात्र पानीका समस्या देखिएको हो’ –उनले भने।

गाउँभन्दा पनि सदरमुकाममै ठूलो पानीको समस्या देखिएको मान्मका स्थानीयले बताएका छन्। कालिकोटमा ८० प्रतिशत खानेपानीको पहुँच पुगेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले तथ्यांकमा देखाएको छ।

जिल्लालाई खुला दिसामुक्त घोषणा गरिए पनि अहिलेसम्म पानीको अभावले सदरमुकामका सार्वजनिक शौचालय एउटा पनि प्रयोगमा छैनन्।