आवास पुनर्निर्माण अनुदान सम्झौता शुरू


नेपाल समाचारपत्र
खोटाङ
विनाशकारी भूकम्प गएको दुई वर्षपछि खोटाङका भूकम्पपीडितसँग निजी आवास पुनर्निर्माण अनुदान सम्झौता शुरू गरिएको छ। भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनमा एक औपचारिक कार्यक्रमका साथ अनुदान सम्झौताको काम शुरू गरिएको हो।

खोटाङका स्थानीय विकास अधिकारी राजनकुमार बिसीले मझुवागढी नगरपालिका–१ का लाभग्राही तोरण बजिमयसँग जिल्लामा आवास अनुदान सम्झौताको उद्घाटन गरेपछि पहिलो दिन १८ पीडित घरधुरीसँग सम्झौताको काम गरिएको छ। केही दिनभित्रै अन्य गाउँपालिका र नगरपालिकामा सम्झौता गरी अनुदान पु¥याउने गरी काम गर्नुपर्ने स्थानीय विकास अधिकारी बिसीले बताउनुभयो।

भूकम्पीय आवास पुनर्निर्माणका लागि जिल्लास्थित साविकका गाविसका ७ हजार ४ सय ४ लाभग्राही पहिचान भएलगत्तै आवास अनुदानको काम अघि बढाइएको हो। अन्य साविक गाविसको लाभग्राहीको सूची आउन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि खोटाङलाई १३ करोड रुपियाँ प्राप्त भइसकेकाले लाभग्राहीसम्म चाँडोभन्दा चाँडो पु¥याउन सबैले भूमिका निर्वाह गर्न बिसीको आग्रह छ।

सम्झौतालगत्तै आवश्यक कागजात पेस गर्ने लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डीपीसीको काम सकिएपछि दोस्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेस्रो किस्ताबापत ७५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलब्ध गराइने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका इन्जिनियर उदयनारायण ठाकुरले बताउनुभयो। आवास पुनर्निर्माणका लागि तोकिएको स्थानीय तहको निर्वाचन र वर्षाले प्रभाव पार्ने कुरामा पीडित लाभग्राही चिन्तित छन्।