मुम्बई इन्डियन्सको रोमाञ्चक जित

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि चार विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा मुम्बई इन्डियन्सका लागि किरन पोलार्डले विस्फोटक ब्याटिङ गरेका थिए। टोलीका शीर्ष चार ब्याटसम्यान केवल सात रनको योगफलमा गुमाएको अवस्थामा वेस्ट इन्डिज ब्याटसम्यान पोलार्डले सानदार ब्याटिङ पस्केका थिए।

४७ बलमा तीन चौका र ५ छक्का प्रहार गरेका पोलार्ड म्यान अफ द म्याच घोषित भए। त्यस्तै क्रुणाल पाण्डे ३७ रनमा नटआउट रहेका थिए।
वेस्ट इन्डिजकै बलर सेमुल बद्रीले ह्याट्रिक गरेर मुम्बई इन्डियन्सलाई तेस्रो ओभरमै ४÷७ को कमजोर स्थितिमा राखेका थिए।

यस सिजनको आईपीएलमा ह्याट्रिक गर्नेमा बद्री पहिलो बलरसमेत बने। बद्रीले ह्याट्रिक गर्न अघि पहिलो विकेट बिनीले लिएका थिए। ३३ रन पुगेपछि नीतिश रानालाई आफ्नो शिकार बनाएर बद्रीले मात्र ९ रन खर्चेर चार विकेट लिएका थिए।

तर उनको सानदार बलिङलाई पोलार्डले उस्तै तरिकाले जवाफ पनि फर्काए। पोलार्ड र क्रुणालले छैटो विकेटका लागि ९३ रन साझेदारी गरेका थिए। पोलार्ड चहलको बलमा आउट हुँदा मुम्बई इन्डियन्स जितबाट १७ रनले पछाडि थियो। तर क्रुणालले जित दिलाउन सफल भएका थिए।

यसअघि रोयल च्यालेन्जर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षति बेहोरर १ सय ४२ रन जोडेको थियो। टोलीका लागि कप्तान विराट कोहलीले ५ चौका र २ छक्कासहित ६२ रनको योगदान दिए।