नेपालगन्ज फेस्टिभलमा घट्टोलाई ५० हजारको पुरस्कार


राजधानीबाहिर फिल्म फेस्टिभलको अभ्यास थालेको नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दोस्रो संस्करण सम्पन्न हुँदा प्राविधिक विषयसँग सम्बन्धित अनिश भण्डारीको सर्ट फिल्म घट्टो सर्वोत्कृष्ट घोषित भएको छ।

नेपालगन्जस्थित सिद्धार्थ कटेजमा सम्पन्न फेस्टिभलको समापन समारोहमा फिल्मका निर्माता एवं निर्देशक भक्तपुर निवासी अनिश भण्डारीलाई ५० हजार नगदले पुरस्कृत गरियो। यति ठूलो धनराशीसहित आयोजना हुँदै आएको यो फिल्म फेस्टिभल राजधानीबाहिर सम्भवतः पहिलो हो।

दुईदिने फेस्टिभलमा मेलाले दोस्रो स्थान हासिल गरेको छ। पशुबलीमा आधारित गढीमाई मेलाको कथा बोकेको उक्त फिल्मलाई नगद ३५ हजारले पुरस्कृत गरियो। पशु बलिसँग सम्बन्धित रहेको उक्त सर्ट फिल्म रघुवर नेपाल र शिवरण कोइरालाले तयार पारेका हुन्।

त्यसै गरी ओभास शाक्यको सर्ट फिल्म कालो गुराँस तेस्रो भई २५ हजार नगद प्राप्त गर्यो। फेस्टिभलमा विष्णु कल्पितको फिल्म सवारीलाई स्पेसल मेन्सन अवार्डले पुरस्कृत गरिएको छ। फेस्टिभलको ओपनिङ फिल्म देवकी विष्टको देउकीलाई नगद २५ हजारसहित स्पेसल सोसल फिल्म अवार्ड प्रदान गरेको थियो।

फिल्म निर्देशक नवीन सुब्बा, डकुमेन्ट्री निर्माता निर्देशक अनुप सुवेदी र साहित्यकार पटकथाकार नयनराज पाण्डे सम्मिलित तीन सदस्यीय छनोट समितिले फिल्महरु छनोट गरी पुरस्कृत गरिएको आयोजकले जनाएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य–सचिव सनत रेग्मीलगायतले विजेता फिल्मलाई पुरस्कृत गरेका थिए।

फिल्म फेस्टिभलमा नेपाल र अन्य विभिन्न देशबाट २० भन्दा बढी सर्ट फिल्महरु छनोट गरी प्रतिस्पर्धा गराइएको फेस्टिभल डाइरेक्टर नन्द देवकोटाले जानकारी गराए। नेपाल, भारत, स्पेन, अमेरिका, भनेजुयला, बंगलादेश, बुल्गेरिया, नर्वे, ब्राजिल, साउथ कोरिया, पाकिस्तान, क्यानडा, इजिप्टलगायत दर्जन बढी देशका फिल्महरु फेस्टिभलमा सहभागी थिए।

फेस्टिभलमा देउकी, डोम समाज, द हेमस्टर ≈िवल रिविलियन, फिप्टी रुपिज ओन्ली, मेला, घट्टो, नर्मल, बबिया, द सन, इट्स क्वाइट बाइ द रिभर, स्न्याक टाइम, अ गुड सन, मिसन साफर हाउस, एडुकेसनल स्टिक, सवारी, फिका भर्सेस फिका, आलिया, जजमन्ट, विन्ट्री स्प्रिङ, कम्युनिटी बेस्ड रेडपान्डा कन्जरभेसन, कालो गुराँस, कामी नँच, अलाइभ बाई लक जस्ता डकुमेन्ट्री फिल्म देखाइएको थियो।

त्यस्तै अन्तर्राष्ट्रिय पानोरोमातर्फ भारतीय निर्माता निर्देशक नटराज महर्षिको १९७३ अनटोल्ड स्टोरीलाई विशेष अवार्ड प्रदान गरियो। फेस्टिभलमा अमेरिकन डाइरेक्टर लयल पियर्सन र भारतको मुम्बईस्थित नासिक इन्टरनेसनल फिल्म फेस्टिभलका फेस्टिभल डाइरेक्टर मुकेश कनेरीको समेत उपस्थिति थियो। फेस्टिभलको शुभारम्भ नायक राजेश हमाले गरेका थिए।

कार्यक्रममा नायक हमालको २५ वर्षे फिल्म यात्रालाई सम्मान गर्दै आयोजक क्रियटिभ ≈यान्डले रथारोहणका साथै नागरिक सम्मान गरेको थियो।