२०७३ का आतंकवादी गतिविधि



आईएसले जिम्मा लिएको क्याफे हमलामा २१ मारिए मारिनेमा अधिकांश विदेशी

ढाका, (एजेन्सी)
आशंकित इस्लामिक लडाकूहरूबाट बंगलादेशको एउटा क्याफेमा भएको आक्रमणमा २१ व्यक्ति मारिएका छन्। मारिनेमध्ये सबै विदेशी नागरिक भएको सरकारी अधिकारीहरूले र बताएका छन्।राति अबेर राजधानी ढाकास्थित होली आर्टिसन बेकरी क्याफेमा बन्दुधारीहरू प्रवेश गरेका थिए।
त्यसको झण्डै १२ घन्टापछि मात्र फौज सो क्याफेभित्र छिरेको थियो। सरकारी प्रवक्ताले उक्त सुरक्षा कारवाहीको क्रममा ६ जना आक्रमणकारी मारेको तथा अन्य १ जनालाई गिरफ्तार गरेको जानकारी दिएका छन्। यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ।

मारिनेमध्ये अधिकांश इटाली र जापानका नागरिक रहेको संचार माध्यमले जनाएका छन्। बंगलादेशका सैनिक ब्रिगेडियर जनरल असरफ चौधरीले ती लडाकूहरूले अधिकांश व्यक्तिको धारिलो हतियार प्रयोग गरी नृशंस ढंगले हत्या गरेको बताएका छन्।

यसैबीच जापानका मन्त्री परिषद्का उपप्रमुख कोइची हागिउदाले सो क्याफेमा ७ जना जापानी नागरिक रहेको र सरकारले अझैसम्म तिनीहरूसँग सम्पर्क राख्न नसकेको बताएका छन्। इटालियन संचार माध्यमले ढाकास्थित इटालियन राजदूत मारियो पाल्मालाई उद्धृत गर्दै सो क्याफेमा ७ जना इटालियन नागरिक हुनुपर्ने बताएको छ।

इटालियन समाचार निकाय अन्साले अधिकांश पीडित जापान र इटालीका रहेको तथा क्याफेमा खाना खाइरहेकामध्ये अधिकांश गार्मेन्ट उद्योगमा कार्यरत व्यक्ति रहेको जनाएको छ। जनरल चौधरीले १ जना जापानी र २ जना श्रीलंकालीलगायत १३ जनालाई सकुशल उद्धार गरिएको बताएका छन्।

मुश्लिमहरूको पवित्र एक महिने पर्व रमजानको उपवास तोड्नका लागि मानिसहरू जम्मा भइरहेको बेला ती हतियारधारी त्यहाँ छिरेका थिए।

सरकारी टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भनिन्, ‘यो निकै नृशंस कार्य हो। तिनीहरू कस्तो प्रकारका मुश्लिम हुन् ? तिनीहरूको कुनै धर्म नै छैन। मेरो सरकार बंगलादेशबाट आतंकवाद र उग्रवाद जरैदेखि उखेल्न प्रतिबद्ध रहेको छ। बंगलादेशको दैनिक अखबार डेली स्टारले बन्दुकधारीहरूले त्यहाँ कुरान पढ्न नजान्नेहरूलाई छानीछानी यातना दिएको जनाएको छ।

तिनीहरूले बंगलादेशी बन्धकहरूलाई मात्र खाना प्रदान गरेको पनि बताइएको छ। निकै सुरक्षित मानिने गुल्शन जिल्लाको सो क्याफेमा आक्रमण हुँदा त्यहीं रहेका सुपरभाइजर सुमोन रेजा छततर्फ भाग्न सफल भएका थिए। उनले लडाकूहरूले विस्फोटक पदार्थ पड्काउँदा पूरा भवनै नै थर्किएको र आफूपछि छतबाट हामफालेर भागेको बताएका छन्।

सो क्याफे नजिक बस्ने रसिला रहिमले भने,‘करिब ८ बजेतिर आक्रमण शुरू भएको हो। हाम्रो वरपर जताततै तोप पड्केको र गोली चलेको सुनिएको थियो। दोहोरो भिडन्तको क्रममा कम्तिमा २ जना प्रहरी मारिएको तथा अन्य ३० जना घाइते भएको बताइएको छ। बंगलादेशका यस्ता क्याफेहरू खानपानका लागि विदेशी तथा मध्यम वर्गीय बंगलादेशी माझ निकै लोकप्रिय रहेका छन्।

गुल्सन जिल्लामा थुप्रै दूतावासहरू र गैरसरकारी संघसंस्थाहरू रहेका छन्। साथै यस क्षेत्रमा सयौं विदेशी र धनीवर्ग बसोबास गर्ने गरेका छन्। सन् २०१५ मा सो क्षेत्रमा आशंकित लडाकूहरूबाट १ जना इटालियन राहत कार्यकर्ता मारिएपछि सरकारले सुरक्षा व्यवस्था निकै कडा पारेको थियो। सुरक्षा जाँच चौकी हुँदा मात्र सो क्षेत्रमा प्रवेश गर्न पाइन्छ। विगत तीन वर्षभित्र बंगलादेशमा आशंकित इस्लामिक लडाकूहरूबाट ४० जनाभन्दा बढी व्यक्ति मारिइसकेका छन्। मारिनेहरूमा धर्म निरपेक्षवादी ब्लगर, लेखक, अभियन्ता, प्राज्ञ र धार्मिक अल्पसंख्यक समूहका व्यक्तिहरू रहेका छन्।

तिनीहरू ‘अल्लाहु अकबर’ भन्दै क्याफेभित्र छिरेको बताइएको छ। र्यापिड एक्सन बटालियनका कमान्डर लेफ्टिनेन्ट कर्णेल मोहमद मसुदले वार्ताका लागि अनुरोध गर्दा तिनीहरूले कुनै प्रतिक्रिया नजनाएको तथा तिनीहरूले कुनै माग राखेको पनि स्पष्ट नभएको एसोसियटेड प्रेसलाई जानकारी दिएका छन्।

एतातुर्क विमानस्थल आक्रमणमा ५० मारिए

इस्तानवुल, (एजेन्सी)
टर्कीको राजधानी इस्तानवुलस्थित एतातुर्क विमानस्थलमा आत्मघाती बम र गोली आक्रमणमा मर्नेको संख्या बढेर ५० पुगेको र मारिनेमा १३ जना विदेशी नागरिक रहेको अन्य २ सय ३९ जना घाइते भएको टर्कीका गवर्नरले जनाएका छन्। राति एउटा ट्याक्सीमा आएका तीनजना आक्रमणकारीले टर्मिनल प्रवेशद्वारमा अन्धाधुन्ध गोली चलाएका थिए।

प्रहरीले प्रत्याक्रमण गर्न थालेपछि तिनीहरूले आत्मघाती विस्फोट गराएका थिए। टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरिमले यस घटनामा कट्टरपन्थी लडाकू समूह इस्लामिक स्टेट (आईएस) को हात रहेको बताएका छन्।

टर्कीले घटनापछि राष्ट्रिय शोकको घोषणा गरेको छ। तुर्केली अनुन्धानकर्ताहरूले विमानस्थलमा जडित सीसीटीभीको फुटेज , प्रत्यक्षदर्शीहरूको बयान तथा आतंकित यात्रुहरूले मोबाइल फोनले खिचेका भिडियोको आधारमा आक्रमणकारीहरूको पहिचान गर्ने कोसिस गरेका छन्।

दि दोगानन्युजले ती मृत ३ जनाको अटोप्सीबाट तिनीहरू विदेशी नागरिक रहेको देखिएको तर यकिन भने नभइसकेको जनाएको छ। इस्तानवुलका गवर्नरले ४१ व्यक्तिको ज्यान गएको पुष्टि गर्दै कम्तिमा १३ जना विदेशी वा दोहोरो नागरिकता प्राप्त व्यक्ति रहेको बताएका छन्। घाइतेमध्ये करिब १ सय ९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

मारिनेमा २३ जना तुर्केली, ५ जना साउदी, २ जना इराकी, १ जना – चिनिया, जोर्डानी, ट्युनिसियाली, उज्वेक, इरानी, युक्रेनी, टर्कीका लागि प्यालेस्टाइनी राजदूतका अनुसार १ जना प्यालेस्टाइनी महिला पनि रहेका छन्। भोलिपल्ट बिहान सबेरैदेखि विमानस्थलमा कामदारहरू फुटेका काँच सफा गर्न केबुल तथा सिलिंग टायल मर्मत गर्न व्यस्त रहेका थिए। विमानस्थलमा थुप्रो संख्यामा सशस्त्र फौज खटिएका थिए।

थुप्रै आन्तरिक र बाह्य उडान रद्द र ढिलाइ भएको घोषण गरिए पनि भोलिपल्ट बिहान सबेरैदेखि उडान सुचारु भएको छ। तुर्केली राष्ट्रपति रिसेप तायिप एर्दोगानले यस आक्रमणले विश्वव्यापी रूपमा आतंकवाद विरुद्धको संघर्षका लागि नयाँ दिशाको काम गर्नुपर्ने बताएका छन्।

तर ती आक्रमणकारीहरूले एक्सरे मेसिनहरू राखिएका प्रवेशद्वारहरूमा गोली चलाएको पाइएको छ। फलस्वरूप त्यहाँ तैनाथ प्रहरीले पनि जवाफी फायर गरेका थिए। त्यसपछि कम्तिमा २ जना आक्रमणकारी भवनभित्र प्रवेश गरेका थिए। सामाजिक संजालमा भाइरल भएको फुटेजमा भने १ जना आक्रमणकारी भवनभित्र हिँड्दै गर्दा वरपरका मानिसहरू डरले भागिरहेको देखिन्छ।

फ्रान्सको निसमा ट्रकले किच्दा कम्तीमा ८४ मारिए

पेरिस, (एजेन्सी)
१ जना आतंककारीले राति फ्रान्सको निस शहरमा एउटा ठूलो भिडलाई जवरजस्ती ट्रकले किच्दा थुप्रै बालबालिकासहित ८४ जना व्यक्ति मारिएको प्रहरीले जनाएको छ। ती आतंककारीले बास्टिल्ले डे मनाउँदै गरेका भिडमाथि ग्रिनेड र अन्य हतियार लादिएको उक्त ट्रकले किचेको सरकारी अधिकारीहरू र राष्ट्रपति फ्रान्स्वाँ हलन्डले बताएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारी फ्रान्समा बस्दै आएका ट्युनिसियाली ३१ वर्षीय मोहम्मद लाहोउजेज बाहुलेल हुन्। फ्रेन्च जनताले १४ जुलाइमा फ्रान्सेली राज्य क्रान्ति शुरू भएको स्मरणमा बास्टिल्ले डे मनाउने गरेका छन्। फ्रान्सको गृहमन्त्रालयका प्रवक्ताले स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजेसम्म १८ जनाको स्थिति चिन्ताजनक र ५० जना सामान्य घाइते रहेको तथा १ सय २० जनाको अझै अस्पतालमा उपचार भइरहेको बताएका छन्। भुमध्य सागर किनारामा रहेको निस शहरको प्रोमेनेड डेस एन्ग्लेसमा भएको सो आक्रमणको कारण घटनास्थल अत्यन्तै कारुणिक रहेको १ जना प्रत्यक्षदर्शीले बताएका छन्।

सुरक्षाकर्मीले नजिकैको रिभिएरा शहरलाई पूर्ण नियन्त्रणको स्थितिमा राखेको छ। यस आक्रमणको वास्तविक उद्देश्य थाहा हुन सकेको छैन। तर पेरिसस्थितप्रति आतंकवाद न्यायिक कार्यालयले यसको अनुसन्धानको जिम्मा लिएको छ।
ती आतंककारीको कुनै सहयोगी थिए वा थिएनन्् भन्ने स्पष्ट हुन नसकेको पनि बताइएको छ। यस घटनामा इस्लामिक आतंकवादको हात नहोला भन्न नसकिने तर फ्रान्स सदैव उग्रवादीहरूभन्दा बलियो रहिरहने सरकारले बताएको छ।

विश्वका नेताहरूले यस आक्रमणको कडा शब्दमा भत्र्सना गरेका छन्।
संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले भने,‘ अमेरिकी जनताको तर्फबाट म दर्जनौं निर्दोष फ्रेन्चको ज्यान जाने गरी भएको विभत्स आतंककारी आक्रमणको कडा भत्र्सना गर्दछु। मारिने व्यक्तिहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’ क्यानाडाली प्रधानमन्त्री जसिटन ट्रड्यु, चिनियाँ प्रधानमन्त्री लि केक्वियांग तथा युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कलगायत विभिन्न नेताहरूले यस आक्रमणको भत्र्सना गरेका छन्। फ्रेन्च गृहमन्त्री बर्नाड काजान्युभले आगामी केही दिनसम्म सम्पूर्ण प्रदर्शन कार्यमाथि रोक लगाइएको जानकारी दिएका छन्।

जर्मनीको व्यस्त बजारमा लरी आक्रमण १२ को मृत्यु, ४८ घाइते

बर्लिन, (एजेन्सी)
बर्लिनमा १२ जना व्यक्तिको ज्यान जाने र अन्य ४८ जना घाइते हुने गरी भएको लरी आक्रमणमा पक्राउ परेका आशंकित व्यक्तिले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएके जर्मनीको गृहमन्त्रालयले जनाएको छ। संभवतः थोमस डि माइजिरे पाकिस्तानबाट आएको हुनुपर्ने र उनको शरणार्थीको आवेदन पूरा नभइसकेको बताइएको छ।

जर्मन चान्सलर एन्जीला मर्केलले यदि उनी शरणार्थी हुन् भन्ने प्रमाणित भएको खण्डमा अझै दुखलाग्दो हुने प्रतिक्रिया दिएकी छिन्। पश्चिम बर्लिनको चर्चित क्रिसमस बजारबाट भागेर दुई किमि पर पुगेको अवस्थामा एउटा पार्कबाट ती आशंकित व्यक्तिलाई पक्राउ गरिएको थियो।

मर्केलले प्रचलित नियम कानुनअनुसार बर्लिन आक्रमणका दोषीलाई कडाभन्दा कडा संजाय दिइने प्रतिबद्धता जाहेर गरेकी छिन्। आप्रवासीसम्बन्धी उनको खुल्ला नीतिको कारण गत वर्ष लाखौं विदेशी शरण खोज्दै जर्मनी पुगेका थिए। उनको उक्त विवादास्पद नीतिको कारण सुरक्षा खतरामा पर्ने केही राजनीतिक समीक्षकहरूले विश्लेषण गरेका थिए।

गत जुलाइ यता जर्मनीमा तीनवटा छुटाछुटै आतंककारी हमला भइसकेको छ। सोमबार साँझ पश्चिमी बर्लिनको मुख्य सपिंग स्ट्रिट नजिकको बे्रइत्सचेइप्लात्जको चर्चित बजारमा उक्त लोरीले जथाभावी मान्छे किचेको थियो। स्टिलका बिमहरू लोड गरिएको सो लोरीले बाटो छेउका काठका स्टलहरू भत्काउँदै पर्यटक र स्थानीय व्यक्तिहरूको भिडमा हुँइकिएको थियो।

डीपीए समाचार निकायले उक्त लोरी बजारमा ५० देखि ८० मिटरसम्म चलाइएको प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। जर्मन संचार माध्यमले ती आशंकित २३ वर्षीय पाकिस्तानीको नाम नावेद बि भएको र उनी सन् २०१५ को उत्तराद्र्धमा वा सन् २०१६ को शुरूमा जर्मनी प्रवेश गरेको जनाएको छ।

उनको प्रहरीमा सानातिना आपराधिक अभिलेख रहेको बुझिएको छ। घटनास्थलबाट उनलाई पछ्याएका एकजना प्रत्यक्ष्यदर्शीले प्रहरीलाई खबर गरेका थिए। लोरीका सक्कली ड्राइभर भएको विश्वास गरिएका १ जना पोलिस पुरुषलाई प्यासेन्जरको सिटमा मृत फेला पारिएको छ। उक्त लोरीका मालिक पोल्यान्डकै एरियल जुराब्स्कीले आफ्नो ड्राइभर सोमबार अपरान्ह ४ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीलाई बताएका छन्। (संयोजनः ओमशंकर श्रेष्ठ)

प्रतिक्रिया दिनुहोस्