मिस मंगोलको घोषणा

0
Shares

मंगोलियन युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता मिस मंगोलको नवौं, दसौं र एघारौं संस्करण एकसाथ हुने भएको छ। आयोजकले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार सन् २०१७ मा हुने ९औं संस्करणलाई रोमाञ्चकारी, २०१८ मा हुने १०औं संस्करणलाई अन्तर्राष्ट्रिय र सन् २०१९ मा हुने ११औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुनेछ।

मिस मंगोल आयोजना भएको १०औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ शैली र फरक ढाँचामा प्रस्तुत गरिन लागेको आयोजकले जानकारी गराए। दसौं संस्करणको फाइनल विदेशमा आयोजना हुनेछ। प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा लगिन लागेको आयोजक संस्थाकी प्रबन्ध निर्देशक पद्मा घिसिङले गराइन्। मिस मंगोलमा डक्टर, पाइलट, इन्जिनियर, मोडल, एअर होस्टेज, नर्सलगायत आ–आफ्नो क्षेत्रमा स्थापित युवतीले स्पर्धा गर्दै आएका छन्। प्रतियोगिताअन्तर्गत यस वर्षदेखि एकवर्षे कार्ययोजनालाई पनि आधार बनाइने भएको छ। यसले प्रतिभावान्, जिम्मेवार र नयाँ दृष्टिकोण बोकेका विजेता छनोटमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतियोगितामा समावेश गरिएकामध्ये मिस ट्यालेन्ट र पब्लिक च्वाइस अवार्ड विजेताले सीधै उत्कृष्ट १५ मा प्रवेश पाउने छन्। आगामी जेठ २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुनेछ। घटीमा एसएलसी पास, ५ फिट वा सोभन्दा बढी उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल युवतीले प्रतियोगितामा भाग लिन पाउने छन्। त्यसै गरी मिस तामाङ, मिस राई, मिस लिम्बु, मिस नेवाः लगायत आदिवासी जनजातिसँग सम्बन्धित जातीय सौन्दर्य प्रतियोगिताका विजेताले पनि सीधै स्पर्धा गर्नसक्ने बताइएको छ। प्रतियोगितामा शीर्ष उपाधिका साथै फस्ट र सेकेन्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी, मिस डिस्सिप्लिन, मिस फ्रेन्डसिप, मिस लिडरसिप, मिस बेस्ट स्किन, मिस बेस्ट हेयर, मिस फोटोजेनिक, मिस पंचुअल र प्रिभियस एक्सेलेन्स अवार्ड समावेश गरिएका छन्। मिस मंगोल नेपालका विजेतालाई १ लाख रुपियाँ पुरस्कार प्रदान गरिँदै आएको छ।