पैसाको अभावमा बर्थडे मनाउँदैन थिए माग्ने बुढा

0
Shares

रश्मी थापा

लोकप्रिय हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले सोमबार आफ्नो ४३औं जन्मदिन रमाइलो र हासो गर्दै मनाएका छन्। उनको बर्थडेका अवसरमा रेडियो अडियो एफएमले विभिन्न हास्य कलाकारहरुलाई भेला पारी केक काटेर थप रमाइलोसमेत गराएको छ।

आफ्नो बर्थडे आफैंले कहिल्यै नमनाएका घिमिरेले ६ वर्षदेखि रेडियो अडियोमा बर्थडे मनाउँदै आएको खुलाए। ‘पहिले पहिले बर्थडे कहिल्यै मनाइएन। बर्थडे मनाउनलाई पैसा चाहिन्थ्यो, तर पैसा हुदैनथ्यो। त्यसैले आफैंले कहिल्यै पनि बर्थडे मनाइनँ। सेलिब्रेटी भइसकेपछि पनि मैले आफैंले कहिल्यै बर्थडे मनाएको छैन’, सानोदेखि ठूलो पर्दाका फिल्मसम्म माग्ने बुढाका रूपमा छाएका उनले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘तर रेडियो अडियोले विभिन्न कलाकारहरुको बर्थडेमा कार्यक्रम राखेर बर्थडे मनाइदिने रहेछ। यसपालि पनि रेडियो अडियोले बोलाएर बर्थडे मनाइदियो। सबैभन्दा यादगार बर्थेडे भनेको रेडियो अडियोले मनाइदिएको पहिलो बर्थडे नै हो। मेरो बर्थडेमा सहभागी कलाकारहरुले बुके, खादा जस्ता उपहार दिनुभएको छ।’

सधैं जन्मदिनको दिन बिहानै नुहाएर नजिकको मन्दिर गई आशिर्वाद लिने गरेका केदार यस पटक भने मन्दिर गएनन्। ‘हिजो (आइतबार) परिवारभित्र एक नयाँ सदस्यको आगमन भएको छ। सुतक बार्नुपर्ने भएकाले मन्दिर गइनँ। नत्र धेरैजसो पशुपति नभए नजिकको मन्दिरमा जाने गरेको थिएँ। जन्मदिनमा सबैभन्दा बढी भगवान्लाई सम्झने गर्छु। त्यसैले बिहानै नुहाईधुवाई गरेर मन्दिर जाने गर्थें, यसपाली जान मिलेन’ –केदारले सुनाए।

जन्मदिनको दिन कसैको उपहारको आशा नराख्ने केदारले यस पटकको बर्थडेमा भने सबैभन्दा पहिलो आफ्नो छोरीको तर्फबाट परफ्युम उपहार पाएछन्। ‘साधारणतया म बिहान १० बजे उठ्ने गर्छु। तर, यस पटक बर्थडे भनेर ८ बजे नै छोरीले उठाइन्। पहिलो विस पनि उनैले परफ्युम दिएर गरिन्। त्यसपछि श्रीमतीले विस गरिन्। उनले कुनै भौतिक वस्तु उपहार दिइनन्’, केदारले खुसी हुँदै शेयर गरे– ‘तर, पहिले नै उनले आफ्नो जिन्दगी मलाई उपहार दिइसकेकी छिन्।’

बर्थडे आउनु भनेको थपप १ वर्ष बुढो हुनु र परिपक्व महसुस गर्दै जाने दिनको रूपमा लिन्छन् उनी। ‘जब–जब वर्थडे आउँछ, आफू बुढो भएको र परिपक्व हँुदै गएको अनुभव गर्छु। पहिले–पहिले कसैले दाइ–भाइ भनेर बोलाउँथे भने अब भने अङ्कल, ठूलोबुबा भनेर बोलाउने समय आयो भन्ने अनुभव हुन्छ। अहिले स्वास्थ्य अवस्था पनि ठीक नभएकाले गर्दा यो जन्मदिनमा मैले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आओस् भन्ने कामना गरेको छु –केदारले भने।

धेरै युवतीको प्रेम प्रस्ताव आइरहने गरेको हस्यौली गर्दै सुनाउने उनी जन्मदिनको दिन भने कमै प्रेम प्रस्ताव आउने बताए। ‘प्रेम प्रस्ताव त धेरै नै आउँछन्। बर्थडेको दिनभन्दा पनि अन्य दिन बढी आउँछन्। तर, ११ वर्षको छोरा र १६ वर्षकी छोरी भएको मान्छे मेरो त पहिले नै भ्याकेन्सी प्याक भइसकेको छ। त्यसैले आउनु मात्र हुन्छ। भ्याकेन्सी खाली छैन सरी भनेर पठाउने गरेको छु –उनले ठ्टयौली पारामा भने।

केही समयअघि अस्वस्थ अवस्थामा रहेको उनको स्वास्थ्यमा अहिले निकै सुधार आएको छ। ‘जब म बिरामी भएर बस्नुपर्यो त्यो बेलामात्र मलाई थाहा भयो मेरो यति धेरै शुभचिन्तक हुनुहुँदो रहेछ भनेर। यति धेरै मायाका लागि र शुभकामनाका लागि मेरो जन्मदिनको अवसरमा दर्शकहरुलाई धन्यवाद भन्न चाहन्छु।’

पुरानो साथी, सबैभन्दा माथि
यो फोटो ऊ बेलाको हो, जुन बेला हामी दर्शकको प्रिय बन्ने साझा सपना बुनेर संघर्षको मैदानमा थियौं। त्यही सहकार्यकै कारण माग्ने बुढा र धुर्मुसको रूपमा दर्शकमाझ परिचित बन्यौं। सफा मनका धनी अनन्य मित्र केदारजी (माग्ने बुढा) लाई जन्म दिनको अवसरमा पूर्ण स्वास्थ्य लाभको कमनासहित करोडौं शुभकामना। –सीताराम कट्टेल ‘धुर्मुस’