अझै व्यवस्थित भएन होमियोप्याथी चिकित्सा


सन्तोष खनाल, काठमाडौं
जनतामा ह्वात्तै अकर्षण बढेको होमियोप्याथी चिकित्सा पद्धति अझै व्यवस्थित हुनसकेको छैन। नेपाल सरकारले देशभरका होमियोप्याथीको व्यवस्थापन गर्न नसक्दा समस्या सिर्जना भएको हो। होमियोप्याथीको काउन्सिल नभएकाले अहिले देशभरका होमियोप्याथीलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा मात्रै दर्ता गरिएको छ।

नेपाल होमियोप्याथिक चिकित्सक संघका उपाध्यक्ष नवीन चापागाईंले सरकारको उदासीनताका कारण हामियोप्याथिकको विकास हुन नसकेको आरोप लगाउनुभएको छ। नीतिगतरूपमा काम गर्न समस्या भएको उहाँको भनाइ छ। ‘स्वास्थ्य नीति योजना तर्जुमामा होमियोप्याथीकलाई आयुर्वेदिक सरह मान्यता दिनुपर्छ’, उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘हामीलाई काउन्सिल नहुँदा समस्या भएको छ। एमडी, बीएचएमएसहरूले नामको अगाडि डाक्टर लेख्न नपाएको गुनासो यससँग सम्बद्ध डाक्टरले गरेका छन्। काउन्सिल नहुँदा उनीहरूको डाक्टर लेख्ने विषयमा समस्या उत्पन्न भएको हो।

उता सरकारी तवरबाट सञ्चालित एकमात्र होमियोप्याथिक उपचार केन्द्रलाई धरापमा पार्ने खेल भएको छ। ६५ वर्ष लामो इतिहास बोकेको सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक अस्पताल रहेको ललितपुरको भवन र कम्पाउन्डमाथि उच्च अदालतले कब्जा जमाउन लागेको भन्दै यसको व्यापक विरोध भएको हो। संसद्को महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिले होमियोप्याथिक उपचार केन्द्रलाई धरापमा नपार्न निर्देशनसमेत दिएको छ। पुनरावेदन अदालत पाटनले स्थान नपुगेको भन्दै होमियोप्याथिक अस्पताललाई बाइकट गर्न लबिङ शुरू गरेको भन्दै अस्पतालले समितिमा निवेदन दिएको थियो। अस्पतालको जग्गा फुत्काउने हल्ला चलेपछि निक्कै दोडधुप गरिएको अस्पतालका प्रमुख डा. सब्बिर खानले बताउनुभयो। ‘हामीले संसद्को समितिमा निवेदन दिएपछि बल्ल बहसको विषय भयो’, उहाँले भन्नुभयो– ‘अहिले घुमाउरो पारामा दुई विकल्प आएको छ।’ अस्पताल नजिकैको खाली जग्गामा अदालतले काम गर्ने वा सट्टापट्टामा अस्पताल बन्द नगर्ने गरी काम गर्ने बहस शुरू भएको बुझिएको छ।

२५ बेडको अनुमति पाएको अस्पतालमा अहिले बेड नै नभएको प्रमुख खानले जानकारी दिनुभयो। आर्थिक अभाव र जनशक्ति अभावले दैनिक १ जना डाक्टरले ८० जनादेखि माथि बिरामी हेर्नुपरेको उहाँको भनाइ छ। अस्पतालमा काम गर्ने डाक्टर, नर्सलगायत १८ जना कर्मचारीले काम गरिरहेका छन्। वि.सं. २०१० मा स्थापना भएको यो अस्पताल कमजोर आर्थिक अवस्था गुज्रिरहेको छ।

यता नेपाल सरकार स्वास्थ्य मन्त्रालयले होमियोप्याथिकलाई व्यवस्थित गरिने बताएको छ। विश्व होमियोप्याथिक दिवस समारोह–२०७३ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव षेणेन्द्रराज उप्रेतिले अस्पताल सुक्षित हुने बताउनुभएको छ। ४३ वर्षदेखि पाटनमा रहेको अस्पताल नसार्ने उहाँले प्रतिबद्धता जनाउनुभएको हो। ‘८० हजारले उपचार लिएको घर हामी सार्दैनौं’, उहाँले भन्नुभयो– ‘अब होमियोप्याथिकको विकासमा लाग्छौं।’ उहाँले अस्पताल विकास समिति पनि नभएर भद्रगोल अवस्थामा चलेको अस्पताल अब सुध्रने बताउनुभएको छ।

विभिन्न रोगको अन्यत्र उपचार गराई निको नभएका, पैसाका कारण उपचार गराउन नसकेका बिरामी यो उपचार सेवा लिन आउने गरेको अस्पतालको भनाइ छ। अहिले यस अस्पतालबाट बिरामीले छालाको रोग, पाचन प्रणाली, पत्थरी, मधुमेह, कम उमेरमा नै कपाल फुल्ने र झर्ने, पोतो, शरीरमा मुसा आउने र कमलपित्त रोगको उपचार लिइरहेका छन्। कतिपय शल्यक्रिया नै गर्नुपर्ने रोग पनि औषधि सेवनबाट निको हुने गरेको पशुपति होमियोप्याथिक अस्पतालले बताएको छ।

होमियोप्याथिक चिकित्सा प्रणाली प्राकृतिक चिकित्सामा आधारित भई सेवा प्रदान गर्ने प्रणाली हो। यस प्रणालीमा रोगको लक्षणअनुसार समानताको आधारमा चिकित्सा सेवा प्रदान गरिन्छ। यो चिकित्सा प्रणालीको विकास सन् १७९६ मा जर्मन वैज्ञानिक डा. फ्रेडरिक क्रिस्चेन स्यामोअलाहनिम्यानले गरेका हुन्। नेपालमा यो चिकित्सा सेवा वैधानिकरूपमा मान्यता प्राप्त भए पनि प्रस्ट नीति नियम तथा ऐन काननको निर्माण हुन नसक्दा सेवा दिने व्यक्ति, संस्था, सेवाग्राही सबैलाई कानुनी तथा व्यावहारिक अप्ठ्यारो भएको गुनासो आएको छ।

होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्सजस्तै हो। यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाइ हुन्छ, जसमा एक वर्ष व्यावहारिक ज्ञान अनिवार्यरूपले गराइन्छ। विश्वविद्यालयको निर्धारित पाठ्यक्रमअनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन, रिपोटए, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसिन, स्त्रीरोग तथा प्रसूति विज्ञान, मनोविज्ञान, माइक्रोबायोलोजी आदि पढ्नुपर्छ। हाल नेपालमा कति होमियोप्याथिक चिकित्सक छन् भन्ने एकिन तथ्यांक नभए पनि करिब २ सय ५० चिकित्सक, सरकारी र निजीमा गरी करिब २ हजार फर्मेसी र त्यतिकै संख्यामा होमियोप्याथिक अभ्यासकर्ता स्वास्थ्यकर्मी रहेको अनुमान छ।