बिरामीमैत्री छैनन् अस्पताल


प्रशान्त वली, काठमाडौं
दाङ घोराहीबाट स्वास्थ्य जाँचका लागि काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा आएकी सीता वली आइतबार ५ बजे अस्पताल पुगिन्। अघिल्लो दिन अर्थात् शनिबार नाम लेखाएकी सीतालाई चेकजाँचका लागि ५ बजे बोलाइएको छ।

सीतालाई कलेजोसम्बन्धी समस्या भएकाले विशेषज्ञ डाक्टरलाई देखाउनुपर्ने र डाक्टर राहुल पाठकले चेक गर्ने भनी टिकट तयार पारिएको छ। एक दिनअघि टिकट काटेकी सीताको रोलक्रम ४ नम्बरमा भए पनि पालो करिब ७ बजे आउँछ। यद्यपि लाइनमा धेरै छन्। किन यति ढिलो पालो आएको भनी अस्पतालमा सोद्धा अस्पताल प्रशासनले चिकित्सकले अन्य बिरामीलाई चेकजाँच गरिररहेकाले ढिला भएको जवाफ दिन्छ। सीताले भनिन्– ‘अस्पतालले मलाई दिएको पर्चामा ५ बजे लेखिएको छ। तर, पालै आएन। के गर्ने जचाउनै पर्यो। अस्पतालले चासो नदेखाएको जस्तो लाग्न थाल्यो हामी बिरामीलाई। कति धेरै अस्पताल चाहारीसकें। हाम्रो पक्षमा कोही बोल्दोरहेनछ।’

यस्तै, दैलेखबाट आमाको उपचारका लागि काठमाडौंस्थित मेडिकेयर अस्पतालमा आएका शिव घर्ती १५ दिन भइसक्यो अस्पतालमा बस्न थालेको। तर, उनी अस्पतालभित्रैको औषधि पसलमा औषधि किन्दा र बाहिर किन्दा मूल्यमा निकै अन्तर भएको गुनासो गर्छन्। आमालाई गाडीले ठक्कर दिएपछि भर्ना गरेको भन्दै अहिलेसम्म ६४ हजार रुपियाँ औषधिमा खर्च भइसकेको घर्तीले नेपाल समाचारपत्रसँग गुनासो पोखे। यद्यपि बाहिर औषधि किन्दाको मूल्य र भित्र किन्दा करिब १५ हजार रुपियाँ बढी खर्च भएको घर्तीको गुनासो छ।

अधिकांश अस्पतालहरूमा उपचाररत बिरामी लिएर आउने आफन्तीहरूले अस्पतालले आफूहरूलाई वास्ता नगर्ने गरेको बताउने गरेका छन्। उनीहरूले अस्पतालमा तोकिएको समयमा डाक्टर नआउँदा बिरामीमाथि हेलचेक्रइइँ हुने गरेको बताएका छन्। प्रत्येक सरकारी तथा निजी अस्पतालमा सूचना अधिकारीको व्यवस्था गरिए पनि कार्यान्वयन निकै फितलो छ। जसले गर्दा टाढा–टाढाबाट आएका बिरामीहरू अन्यौलमा पर्ने गरेका छन्। ओम अस्पताल काठमाडौंका प्रबन्ध निर्देशक बाबुकाजी श्रेष्ठले कमजोरी, अशक्त, वृद्ध, बालबालिका र जटिल समस्या भएका बिरामीहरू लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाइएको बताउनुभयो।

उहाँले थप्नुभयो– ‘हामीले पनि सूचनापाटी नटाँसेको स्वीकार गर्छौं। अब छिट्टै बिरामीको सेवालाई सरलीकृत गर्ने तयारीका साथ लागेका छौं। तर, बिरामीहरूले जानकारी नपाएर पनि सेवा नलिएको भने स्वीकार गर्छौं। अब त्यसो हुन दिँदैनौं।’ यस्तै मेडिकेयर अस्पतालका प्रशासकीय प्रमुख हरिभक्त सिग्देलले डिउटी डाक्टरहरू २४सै घण्टा खटिने गरेको र केही गुनासो भए अस्पताल प्रशासनमा सम्पर्क गर्न आग्रह गर्नुभयो।

सरकारी अस्पतालहरूमा अनिवार्य बिहान १० देखि ५ बजेसम्म हाजिरी हुनुपर्ने प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन। जिल्ला तहका सरकारी अस्पतालहरूमा सम्बन्धित पक्षले आवश्यक निगरानी नराख्दा डाक्टरहरूमा मनोमानी बढेको र समयमा कार्यकक्ष नजाने गरेको बताइएको छ। स्वास्थ्य मन्त्रालयले प्रत्येक अस्पतालमा नागरिकलाई सहज र सरल तबरबाट स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको छ।