प्रतिष्ठानद्वारा भलिबललाई सहयोग

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
मंगलबारदेखि शुरु हुने ‘तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगिताअन्तर्गत महिलातर्फको प्रथम पुरस्कारको प्रायोजन शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रथम पुरस्कारबापतको दुई लाख रुपियाँको चेक नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तण गरिन् । कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रतिष्ठानका अध्यक्ष एवं पूर्वराष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्काले पछिल्लो समय लोकप्रिय बनेको भलिबललाई उचाइमा पुर्याउन र खेलाडीको प्रोत्साहनका लागि प्रथम पुरस्कारको प्रायोजन गरेको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले खड्का परिवारले थालेको अभियानको प्रशंसा गरे। यस्तै संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिष्ठानले भलिबललाई गरेको सहयोग अतुलनीय रहेको बताए । वि.सं २०७० सालमा स्थापना भएको प्रतिष्ठानले सामाजिक क्रियाकलापका साथै खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले हरेक वर्ष शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्नुका साथै खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लब, जाउलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसै गरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जाउलाखेल स्पोर्टस क्लबले सहभागिता जनाउनेछन् । लिगको विजेताले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख प्राप्त गर्नेछ ।