बुबाको निधनले रोकेनन् ऋषभ

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेविल्सलाई १५ रनले हराएको छ ।

दिल्लीका ऋषभ पन्तले आफ्नो टोलीलाई जिताउन भरसक कोसिस गरेका थिए । तर उनले जित दिलाउन सकेनन् । तीन दिनअघि बुधबार मात्रै उनको बुबाको निधन भएको थियो र अन्तिम संस्कारपछि उनी शुक्रबार प्रतियोगिताको लागि फर्केका थिए ।

ऋषभले आफ्नो ब्याटबाट रन बटुलेर यो साबित गरिदिए की बुबाको निधनमा पनि खेलाडीले धैर्य धारण गर्न सक्छन् । २०१६–१७ सिजनमा रणजी ट्रफीमा तेहेरो सतक बनाएका उनले ३६ बलमा ५७ रन जोडे । उनले तीन चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तो दुःखद घडीमा पनि ऋषभले खेल जारी राख्दा ट्विटरमा क्रिकेट फेन्सले उनको खुबै प्रशंसा गरेका थिए ।

दीप नाम गरेका फेन्सले ट्वीट गरे –बुधबार आफ्ना बुबालाई गुमाए । तर कस्तो खिलाडी हो ऋषभ पन्त आफ्नो टिमलाई जिताउन संघर्ष गरे । त्यस्तै प्रतिद्वन्द्वी टोली रोयल च्यालेन्जर्स बैंगलोरले ट्विटरमा लेख्यो’–पन्तले ३३ बलमा अर्धसतक बनाए । एक बहादुर युवाको विशेष इनिङ ।

ऋषभ मात्रै होइनन् अन्य भारतीय चर्चित खेलाडी पनि यस्तो दुःखद घडीबाट गुज्रिसकेका छन् । सन् २००६ मा विराट कोहलीसँग पनि यस्तै भएको थियो । रणजी ट्रफीको खेल चलिरहेको थियो । राति उनका बुबाको स्वर्गारोहण भएको खबर आयो । तर उनले अर्को दिन खेल जारी नै राख्दै ९० रन बनाएर दिल्लीलाई फलो अनबाट बचाएका थिए ।

त्यस्तै सचिन तेन्दुलरको करिअरमा पनि यस्तै मोड आएको थियो । विश्वकप जस्तो प्रमुख प्रतियोगिता दौरानमा उनका बुबाको निधन भएको थियो । सचिनले तीन दिन पछि विश्वकपमा फर्केर खेल्न थालेका थिए । उनले केन्याविरुद्ध सतक बनाएर भारतलाई विश्वकपमा जित दिलाएका थिए ।