अशोक नयाँ मिस्टर हिमालय

0
Shares

काठमाडौं, (नेस)
पाँच प्रतिस्पर्धीलाई पछारेर रिभर फिल्ड फिट्नेस, चमतीका अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अशोकले पुरुष ७५ केजीमा पहिलो हुँदै मिस्टर हिमालय उपाधिका लागि भिडेका हुन्। उनले मिस्टर हिमालय बन्न विभिन्न तौल समूहका पाँच विजेतासँग प्रतिस्पर्धा गरेका थिए। जसमा ५५ केजीका विजेता रत्नश्री जिम, पोखराका कमल भण्डारी, ६० केजीका विजेता नेपाल ब्यायाम मन्दिर, ज्याठाका सुजन तामाङ, ६५ केजीका विजेता फिट्नेस फस्ट, सतुंगलका रोजिन वज्राचार्य, ७० केजीका विजेता व्यायाम मन्दिरका रामबहादुर दाहाल र ७५ केजीभन्दा बढी तौलका विजेता व्यायाम मन्दिरकै ग्रिस महर्जनलाई उनले पछि पारेका थिए।

कूल पुरस्कार राशी ७ लाख रहेको प्रतियोगितामा अशोकले २ लाख ७५ हजार नगद पुरस्कार हात पारे। उनले मिस्टर हिमालयका लागि २ लाख ५० हजार र आफ्नो तौलसमूहमा पहिलो भएकोमा छुट्टै २५ हजार नगद पुरस्कारसमेत जिते।

मिस्टर हिमालयको ६ संस्करण समाप्तिमा दुईपटक उपाधि जित्नेमा अहिलेसम्म सचित प्रधान मात्र एक्लो खेलाडी हुन्। उनले दोस्रो र तेस्रो संस्करणको उपाधि जितेका थिए। पहिलो संस्करणमा हरिश श्रेष्ठ, चौथोमा रामबहादुर दाहाल र पाँचौमा रामहरि खनाल च्याम्पियन बनेका थिए। पुरुष ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ दोस्रो र कपिलवस्तुका सुरेन्द्र वर्मा तेस्रो भए। ६० केजीमा रोयल जिम एन्ड क्लब, बौद्धका सुक्देव कार्की दोस्रो र व्यायाम मन्दिरका सैलेन्द्र शर्मा तेस्रो बने। ६५ केजीमा व्यायाम मन्दिरका रमेश कार्कीले रजत तथा रूपन्देहीका मोतिलाल चौधरीले कांस्य जिते। ७० केजीमा मध्यपुर फिजिकल फिट्नेस क्लब, ठिमीका अमितकुमार मण्डल दोस्रो र सिटी हेल्ट स्टुडियो, सुकेधाराका विशुराम केसी तेस्रो बने।

७५ केजीमा कान्तिपुर फिट्नेस सेन्टर, डल्लुका विसन गुरुङ दोस्रो र कम्प्लिट हेल्थ क्लब, बानेश्वरका अनुज मास्के तेस्रो स्थानमा रहे। ७५ केजीमाथि रूपन्देहीका अनिश थापा दोस्रो र मसल्स वल्र्ड फिट्नेस सेन्टर, खुसीबुँका अमन तण्डुकार तेस्रो भए। हरेक तौल समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

महिला एथलेटिक फिजिकको खुला उचाइ समूहमा डिभाइनकी जुनु श्रेष्ठले स्वर्ण, कम्प्लिटकी आरती काफ्लेले रजत तथा ठमेल फिजिकल फिट्नेसकी रजनी थापा मगरले कांस्य जिते। पुरुष फिट्नेस र महिला एथलेटिक फिजिकमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार पाए।