तामाङ सेलोमा दयाहाङसँगै केकी

0
Shares

पत्रकार तथा डेब्यु पिल्म निर्देशक दीपेन्द्र लामाले आफूद्वारा निर्देशित फिल्म घामपानीको तामाङ सेलो गीत सार्वजनिक गरेका छन्। हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको आपालाई मेरो फ्याफुलजी बोलको तामाङ सेलोमा चन्द्रकुमार दोङको संगीत र फूलकुमार बम्जनको शब्द छ।
गीतलाई सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले गाएका छन्।

गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउँमा गरिएको निर्देशक लामाले बताए। प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीका साथमा प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीले अभिनय र नृत्य गरेका छन्। तामाङ सेलोमा दयाले केकीलाई तामाङ संस्कृतिअनुसार घर भित्त्याएको देखिन्छ।

फिल्ममा मौलिक संस्कृतिका गीत हराइरहेको बेला आफ्नो फिल्म घामपानीमा तामाङ सेलो पस्किन पाउँदा खुसी लागेको र गीतमा दुई संस्कृतिको फ्युजनका रूरुपमा डम्फु र सहनाई बाजाको मिश्रण सुन्न पाइने निर्देशक लामाले बताए। संगीतकार दोङले पनि नेपाली भाषाको फिल्मका लागि सेलो कम्पोज गर्न पाउँदा खुसी लागेको सुनाए। फिल्मका लागि अरू सेलोभन्दा बढी मिहेनत गरिएको उनले दाबी गरे।

नयाँ वर्ष २०७४ को वैशाख १ गते रिलिज हुने घामपानीमा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ। फिल्मको मागअनुसार नै तामाङ सेलो समेटिएको निर्देशक लामाले दाबी गरे।