भिडियो इफेक्टको कमाल

0
Shares

बदलिँदो समयअनुसार प्रविधिको विकास र त्यसको प्रयोगसँगै केही वर्षयता आएर नेपाली फिल्ममो अनुहार परिवर्तन हुन थालेको छ। अत्याधुनिक प्रविधिको प्रयोगसँगै नेपाली फिल्म पनि प्राविधिकरूपमा स्तरीयर र सम्पन्न हुन थालेको छ। नेपाली फिल्म क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग भएसँगै भिजुअल इफेक्टको प्रयोग पनि बढ्न थालेको छ।

भिजुअल इफेक्टको प्रयोग बढेसँगै यससँग सम्बन्धित प्राविधिकहरुमा पनि वृद्धि हुन थालेको छ। नेपालका नम्बर एक एनिमेटर अक्की शर्माले नेपाली फिल्म उद्योगमा भिजुअल इफेक्टको माग ह्वात्तै बढेको बताएका छन्। खास गरी ५ वर्ष अगाडिदेखि भिजुअल इफेक्टको माग बढेको जनाउँदै शर्माले यसको मागसँगै विश्वस्तरमा बढेको नवीनतम प्रविधि नेपालमा भित्त्याउँदै जानुपर्ने आवश्यकता औंल्याए। दर्जनौं फिल्म र विज्ञापन फिल्मका लागि भिजुअल इफेक्टको काम गर्दै आएका उनले जेठ १९ गते रिलिज हुने तय भएको आफ्नो फिल्म जालोमा निकै मेहनत गरेकाले सो फिल्म सफल हुने विश्वास पनि व्यक्त गरे। ३ दर्जन फिल्मका भिडियो इफेक्टको काम गरिसकेका शर्माका पिँजडा ब्याक अगेन, इन्डलेस लभ र लभ डायरी पोस्ट प्रोडक्सनमा छन्।

सबैभन्दा बढी चलचित्रमा भिजुअल इफेक्ट हालेका शर्माले फिल्म च्याम्पियनबाट सन् २०१६ को एलजी फिल्म अवार्डमा उत्कृष्ट भीएफएक्स अवार्ड जित्न सफल भएका थिए। उनले च्याम्पियन नेपालकै सबैभन्दा बढी भिजुअल इफेक्ट रहेको फिल्म भएको दाबीसमेत गरे। सन् २०१४ मा फिल्म स्कुलबाट बलिउडको अवार्ड दादासाहेब फिल्म सर्टिफिकेट अफ एक्सिलेन्स पाएका शर्मा विगत ७ वर्षदेखि भिडियो इफेक्टको काम गरिरहेका छन्। झापाका अक्कीले नोभेम्बर रेन, परदेशी, नाइँ नभन्नु ल-३, डाइङ क्यान्डल, मेघा, बाटोमुनिको फूल-२, बिर्खेलाई चिन्छस् ?, म त तिम्रै हुँ, माला, भुलभुलैया, उमंग, त्यान्द्रो, अर्धकट्टी, लुट कम्पनी, नागरिक, गुड लक, ब्रह्मा, सिसा, यो कथा हो तिम्रो मेरो, टिस्टापारिको साइनो, लक्ष्य, बेस्ट फ्रेन्ड फरएभर, स्टुपिड म्यान, वीर, वार, अप्रिल फुल, लभ फरइभर, माई प्रोमिस, देश खोज्दै जाँदालगायतका फिल्मलाई आफ्नो भिडियो इफेक्ट कलाद्वारा सम्पन्न बनाएका छन्। ुभिडियो इफेक्ट वा एनिमेसनले सुटिङ गर्न असम्भव जस्तोसुकै दृश्यलाई पनि पर्दामा ल्याउन सकिन्छु, शर्मा भन्छन्- ुहरेक कल्पना र परिकल्पनालाई भिजुअल इफेक्टको माध्यबाट पर्दामा देखाउन सकिन्छ। त्यसैले अहिले नेपाली फिल्ममा पनि एनिमेटरको माग बढेको छ।ु

उनले भोजपुरी फिल्मका लागि समेत यो काम गरेका छन्। उनले रजाउ नम्बर वान, हमार बदला र जय मधेसजस्ता भोजपुरी फिल्मका लागि भिजुअल इफेक्टको काम गरेका छन्। शर्माले नेपाली फिल्मको मागअनुसार आफूले सेवा पनि दिन सकेको बताए। उनी एनिमेटर र भीएफएक्स आर्टिस्टसँगै फिल्म एडिटर र सर्ट फिल्म मेकर पनि हुन्। करियरको शुरुआती दिनमा हलिउड फिल्महरुको काम गर्ने नेपालमा रहेका इन्सेसेन्ट रेन स्टुडियोमासमेत ६ महिना काम सिक्ने अवसर पाएका उनले त्यसपछिका दिनमा आफूलाई सफल प्राविधिकका रूपमा अगाडि बढाउँदै आएका छन्।