निर्वाचन अधिकृत खटाइयो

0
Shares

सन्तोष अधिकारी, गोरखा
आउँदो वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनमा गोरखा जिल्लाका लागि नेपाल सरकारले निर्वाचन अधिकृत खटाएको छ।

जिल्लाको ९ गाउँपालिका र २ नगरपालिकामा स्थानीय निकायको निर्वाचन गराउने जिम्मेवारी तोकी निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत खटाइएको हो। निर्वाचन आयोगले शुक्रबार २५ गतेदेखि लागू हुने गरी सबै निर्वाचन अधिकृतलाई नियुक्ति दिएको हो।

जिल्ला सदरमुकाममा रहेको गोरखा नगरपालिकाको निर्वाचन हेर्ने र समग्र जिल्लामा खटिएका निर्वाचन अधिकृत परिचालन गर्ने गरी मुख्य निर्वाचन अधिकृत खटिएका छन्। मुख्य निर्वाचन अधिकृतमा गोरखा जिल्ला अदालतका न्यायाधीश वसन्तराज पौडेललाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै गरी पालुङटार नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सुरेन्द्रराज काफ्लेलाई जिम्मेवारी दिइएको छ भने चुम नुब्री गाउँपालिकामा मालपोत कार्यालय लमजुङका उपसचिव हरिहर दाहाललाई जिम्मेवारी दिइएको छ। जिल्लाको धार्चे गाउँपालिकामा सर्वोच्च अदालतका उपरजिस्ट्रार नारायणप्रसाद रेग्मी, सुलिकोट गाउँपालिकाका लागि मालपोत कार्यालय गोरखाका उपसचिव पुरन गिरीलाई जिम्मेवारी दिइएको छ। उता अजिरकोट गाउँपालिकामा पर्यटन कार्यालय भैरहवाका खेमबहादुर थापा, आरुघाट गाउँपालिकामा कृषि विभागका उपसचिव यादव सुवेदी, भीमसेन गाउँपालिकामा क्षेत्रीय प्रशासन कार्यालय दिपायलका उपक्षेत्रीय प्रशासक सुरेन्द्र पौडेललाई जिम्मेवारी दिएर पठाइएको छ।

त्यस्तै गरी सिरानचोक गाउँपालिकामा यातायात व्यवस्था कार्यालय गण्डकीका उपसचिव कृतनराज पौडेल, शहीद लखन थापा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मीलाई जिम्मेवारी दिएको छ भने गण्डकी गाउँपालिकामा मालपोत कार्यालय तनहुँका उपसचिव दीर्घबहादुर पोखरेललाई जिम्मेवारी दिई कार्य क्षेत्रमा खटाइएको छ।

२ सय १३ मतदान केन्द्र रहेको गोरखामा कुल १ लाख ६९ हजार ४६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पोखरेलले बताए। जसमध्ये ८७ हजार ४ सय २४ जना महिला र ८१ हजार ६ सय २१ जना पुरुष र १ जना तेस्रोलिंगी रहेका छन्।

०७० सालमा भएको संसदीय निर्वाचनका बेला कुल १ लाख ३८ हजार ६ सय ५७ मतदाता रहेका थिए। त्यसमध्ये पुरुष ६६ हजार ३ सय ४६ जना महिला ७२ हजार ३ सय १० जना र १ जना तेस्रोलिंगी रहेको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए।