दाहाल फाइनलमा


नेपाल समाचारपत्र
काठमाडौं
चौथो संस्करणका विजेता नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल शुक्रबारबाट शुरू भएको छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको फाइनलमा पुगेका छन्।

पुरुष ७० केजीमा दाहालसँगै सिटी हेल्थ स्टुडियोका विशुराम केसी, मध्यपुर फिजिकल फिटनेस क्लबका अमितकुमार मण्डल, मिड–वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा र रुपेन्दहीका ताराबहादुर थापा क्षेत्री पनि फाइनलमा पुग्न सफल भए।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७५ केजीमा एक्टिभ फिजिकल फिटनेसका रोहित हमाल, कम्प्लिटका अनुज मास्के, कान्तिपुर फिटनेस सेन्टरका विसन गुरुङ, रिभर फिल्ड फिटनेसका अशोक महर्जन र रुपन्देहीका विजेन्द्रमान श्रेष्ठले फाइनलमा स्थान पक्का गरे। ७५ केजीमा कञ्जनजंघा फिटनेस सेन्टरका पीताम्बर थलाङ लिम्बू, मसल्सका अमन तण्डुकार, व्यायाम मन्दिरका ग्रिस महर्जन, ओम फिटनेस सेन्टरका वीरबहादुर महतारा र रूपन्देहीका अनिश थापा फाइनलमा पुग्न सफल भए।

महिलाको एथ्लेटिक फिजिक्सको खुला उचाइ समूहमा कम्प्लिटकी आरती काफ्ले, डिभाइनकी जुनु श्रेष्ठ, मसल्सकी मेरिना श्रेष्ठ र ठमेल फिजिकल फिटनेसकी रजनी थापा मगर फाइनलमा पुगे। शनिबार सम्पन्न हुने प्रतियोगिताको शारीरिक सुगठनमा ६, फिटनेसमा २ र एथ्लेटिकमा १ स्पर्धा समावेश छन्। ८६ पुरुष र ४ महिला गरी ९० खेलाडी सहभागी छन्।