सुमितलाई कामना सहकारी चेसको उपाधि


नेपाल समाचारपत्र
काठमाडौं

श्रेयंकर साकोस काठमाडौंका सुमित पन्तले पाँचौं कामना सहकारी कप चेसको उपाधि शुक्रबार जितेका छन्।

गोल्डेनगेटका हिमाल लामालाई एक अंकले पछार्दै सुमितले १ लाख ७२ हजार ९ सय मूल्य बराबरको मोटरसाइकलसमेत प्राप्त गरे। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा शुक्रबार जावलाखेलमा सम्पन्न च्याम्पिनिसिपको फाइनलमा पराजित हिमालले ५० हजार नगदमा चित्त बुझाए।

त्यस्तै क्यान्डिडेटमास्टर क्षितिज भण्डारी सडेनडेथमा फिडेमास्टर मनिष हमाललाई पराजित गर्दै तेस्रो भए। क्लासिकलतर्फ टाइब्रेकका लागि भएको ब्लिज खेलसमेत १–१ मा टुंगिएपछि खेलको नतिजा सडेनडेथमा आएको थियो। तेस्रो भएका क्षितिजले ३० हजार तथा चौथो भएका मनिषले २५ हजार नगद प्राप्त गरे।

यसै गरी प्रतियोगिताअन्तर्गत लिगतर्फ करुणामय साकोसका बद्रीलाल नेपालीले उपाधि हात पारेका छन्। १०औं चरणमा प्रतियोगिताका शीर्ष खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थलाई हराउँदै बद्रीलालले २५ हजार नगदसमेत हासिल गरे।

मच्छिन्द्र क्लबका सुरवीर लामालाई हराएर गोल्डेनगेटका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ लिगतर्फ दोस्रो हुँदै १५ हजार नगद हात पारे। थापाथली चेस पार्कका सुशील चौधरी तेस्रो, नेसनल डेभलपमेन्टका दीर्घराज जोशी चौथो तथा मखन चेस क्लबका सुमन लामा पाँचौं भएर क्रमशः १०, ८ र ७ हजार नगद हासिल गरेका छन्।

महिलातर्फ जनता साकोसका सिन्दिरा जोशीले पहिलो हुँदै १० हजार नगद प्राप्त गरिन्। अर्थ बहुउद्देश्यीय ललितपुरका सविना श्रेष्ठ, काठमाडौंका विनिता कपाली, चितवनका लक्ष्मी कँडेल तथा ललितपुरका नोज्मी खड्का क्रमशः महिलातर्फ दोस्रोदेखि पाँचौं स्थान हासिल गर्न सफल भए।

कुल ४ लाख ९८ हजार ४ सय पुरस्कार राशी रहेको प्रतियोगितामा ८० खेलाडीको सहभागिता रहेको थियो। लिग तथा नकआउट दोहोरो प्रणालीमा सम्पन्न प्रतियोगिताका विजेतालाई व्यवस्थापिका संसद् सदस्य चन्द्र महर्जनले पुरस्कृत गरे।