अनलाइन डाटाबेस सिस्टम सार्वजनिक


नेपाल समाचारपत्र
काठमाडौं

प्रेस स्वतन्त्रता हनन्का घटनाहरू अभिलेखिकरणका लागि नेपाल पत्रकार महासंघले शुक्रबार एक कार्यक्रमबीच अनलाइन डाटाबेस सिस्टम सार्वजनिक गरेको छ। ललितपुरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले सो को सार्वजनिक गर्नुभएको हो।

नेपाल पत्रकार महासंघले पत्रकारहरूमाथि हुने आक्रमण, हिंसा, दुव्र्यवहार, धम्की, पेशागत असुरक्षा, काममा अवरोध तथा सञ्चार संस्थाहरूमाथि हुने आक्रमण, वितरणमा अवरोध, आदिजस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरूलाई अभिलेखीकरण र त्यसबाट उन्मुक्ति तथा उपचारको पहल गर्दै आएको छ।

महासंघले यस्ता घटनाहरूको अभिलेखीकरणका सन्दर्भमा २०७१ मा सबै सरोकारवालाहरूको सहभागीतामा मापदण्ड तयार गरी सोहीअनुसार अभिलेखीकरण गर्दै आइरहेको छ। त्यसलाई अझ परिमार्जन गर्दै सूचना प्रविधिको उच्चतम प्रयोग गरी महासंघका सदस्य, सम्पूर्ण सरोकारवाला तथा आम मानिसलाई सजिलै सूचना उपलब्ध गराउने उद्देश्यले प्रेस स्वतन्त्रता हनन्का घटनाको अभिलेखीकरण तथा सूचना सम्प्रेषणका लागि अनलाईन डाटाबेस तयार गरेको हो।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले पछाडि पारिएका व्यक्तिहरूको आवाज बाहिर ल्याउँदा पत्रकारहरू जोखिममा पर्ने सम्भावना बढी हुनसक्ने भएकाले यसमा ठूलो चुनौति रहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘राष्ट्रिय मानव अधिकार आयोग पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्य गर्न निकै संवेदनशील भएर लागिरहेको छ र निरन्तर निगरानी गरिरहेको छ।’ साथै उहाँले पछिल्लो समय मानव अधिकार आयोगमा उपलब्ध हुने व्यक्तिगत घटनाहरूको संख्या घट्दै गएको जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको बताउँदै यसका लागि महासंघले निरन्तर काम गरिरहेको बताउनुभयो।

उहाँले नेपालमा पत्रकारहरूमाथि हुने आक्रमण तथा धम्कीका घटनाहरूमा कमी आए पनि अझै अवस्था सन्तोषजनक नरहेको जनाउनुभयो। दण्डहीनता अझै बढिरहेको बताउँदै त्यसका कारण सेल्फ सेन्सरसिप बढेको उहाँले बताउनुभयो।

त्यसै गरी युरोपियन युनियनका हेड अफ कोअपरेसन एन्ड्रियस रोइटगरले राजनीतिक दल, सुरक्षा, सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाजलगायतका सबै पक्षहरूको सहकार्यले मात्र पत्रकारहरूको सुरक्षा सुनिश्चित हुन सक्ने र यसले आपसी सद्भाव र सहकार्यलाई पनि बढाउने बताउनुभयो। नेपाल पत्रकार महासंघले युरोपियन युनियनको सहयोग र इन्टरनेसनल अलर्टको सहकार्यमा सञ्चालन गरिरहेको अभिव्यक्ति स्वतन्त्रताः नेपालमा मिडियाको अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धन कार्यक्रमअन्तर्गत यो डाटाबेस निर्माण गरिएको थियो।