वैशाखमा निखिलको राधे

0
Shares

लामो समय रजतपटबाट टाढा भई केही समयअघिबाट फेरि सक्रिय भएका एक्सन नायक निखिल उप्रेती अभिनित फिल्म राधे आगामी नयाँ वर्षबाट रिलिजमा आउने भएको छ। फिल्मबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माता सुशील पोखरेलले राधे आगामी वैशाख १ गतेदेखि रिलिजमा आउने जानकारी गराए।

एकसाथ अल नेपाल रिलिज हुने फिल्म जगदिश्वर थापाको डेब्यु निर्देशनमा बनेको हो। फिल्ममा निखिल उप्रेती, प्रियंका कार्की, प्रमोद अग्रहरि, शिशिर भण्डारी, अशिष्मा नकर्मीलगायत प्रमुख भूमिकामा छन्।

निर्माता सुशील पोखरेलको कथामा निर्माण भएको फिलममा बेपत्ता पारिएको एक पात्रको कथालाई उठान गरिएको निर्देशक थापाले जानकारी गराए। नायक निखिल उप्रेतीले भने राधेको कथा जसरी अगाडि बढे पनि मूलरूपमा सबै नेपालीको कथा भएको दाबी गरे। एक्सनमा जम्दै आएका नायक उप्रेतीले फिल्ममा यसपटक अभिनय पनि गर्ने कोशिस गरेको बताए। नायिका प्रियंका कार्कीले आफूले काम गरेको फिल्म सधैं प्रतीक्षाको विषय हुने भए पनि राधेको विशेष प्रतीक्षा भएको बताइन्। निर्माता पोखरेलले भने यसपटक दर्शकले राधेमा निखिलको एक्सनसँगै एउटा फरक कथा हेर्न पाउने दाबी गरे।

फिल्मको ट्रेलरमा कलाकार शिशिर भण्डारीले निखिलको मूर्ति ढालिदिएको देखिन्छ। कार्यक्रममा निखिलको सोही मूर्ति बनाउने मूर्तिकारले अद्र्धकदको सो मूर्ति निखिललाई उपहारस्वरूप दिएका छन्। निखिललाई मूर्तिकार नवीन सुवेदीले सधैं सम्हालेर राख्नुहोस् भन्दै अद्र्धकदको मूर्ति उपहार दिएका हुन्।