ईपीजी बैठक हात्ती आयो हात्ती आयो फुस्सा


काठमाडौं, (नेस)
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयसापेक्ष बनाउन नेपालले गरेको आग्रहबारे भारतीय समूह सकारात्मक भए पनि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठक निष्कर्षमा पुग्न सकेन।

बिहीबार सम्पन्न तेस्रो बैठकमा सो सन्धिका धारा २, ५ र ७ लाई संशोधन गर्दै समयसापेक्ष बनाउन नेपालले प्रस्ताव गरेको थियो। नेपालले राखेको प्रस्तावमा विस्तृत छलफलको आवश्यकता औंल्याउँदै सो विषय चौथो बैठकमा समेत दोहोरिने भएको छ।

शान्ति तथा मैत्री सन्धिको धारा–२ मा दुवै मुलुकबाहेक अन्य छिमेकी मुलुकसँग सम्बन्ध विवादमा आएमा एक अर्को मुलुकलाई सो विषय जानकारी गराउनुपर्ने व्यवस्था उल्लेख गरिएको छ।

त्यसै गरी धारा–५ मा नेपालले हातहतियार, विस्फोटक पदार्थ, गोलीगठ्ठा, आयात गर्दा भारतको सहमति लिनुपर्ने वा भारतबाट खरिद गर्न पाउने व्यवस्था छ। धारा–७ मा एकअर्को मुलुकका नागरिकलाई आ–आफ्नो भू–भागमा बसोबास गर्न तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोबारमा भाग लिन पाइने व्यवस्था उल्लेख भए पनि त्यस्तो व्यवस्था दुवैतर्फबाट पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन।

तेस्रो बैठकको शुरूको दिन बुधबार ईपीजीका नेपाली सदस्य निलाम्बर आचार्यले सन् १९५० को सन्धिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

तेस्रो बैठकमा सो सन्धिसहित जलस्रोत, व्यापार र अन्य द्विपक्षीय सम्बन्धका विविध विषयमा सकारात्मकरूपमा छलफल भएको समूहको नेपाली टोलीका संयोजक डा. भेषबहादुर थापाले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीहरूसँग उहाँले भन्नुभयो– ‘समूह गठन हुनुअघि हामी (नेपाल) ले गुनासो गर्ने र भारतले कानमा तेल हाल्ने जस्तो अवस्था थियो, तर अहिले द्विपक्षीय सम्बन्धका विविध विषयमा सकारात्मकरूपमा छलफल अघि बढेको छ।

समूहको चौथो बैठक आगामी जेठ १६ देखि १८ गते (मे २९ देखि ३१ तारिख) सम्म भारतको देहरादुनमा हुने संयोजक थापाले जानकारी दिनुभयो।
सञ्चारकर्मीहरूसँगको छलफलमा नेपाली टोली मात्रै उपस्थित थियो। बैठकलगत्तै बिहीबार दिउँसो दुवैतर्फका ईपीजी टोलीले परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतसँग सिंहदरबारमा भेटवार्ता गरेको थियो।

भारतीय टोलीका सदस्यद्वय जयन्तप्रसाद र महेन्द्र पी. लामा बिहीबार नै स्वदेश फर्कनुभएको छ। भारतीय संयोजक भगत सिंह कोसियारी र बीसी उप्रेती राजनीतिक भेटघाटमा व्यस्त रहँदै आज शुक्रबार मात्रै स्वदेश फर्कने तयारीमा रहनुभएको बताइएको छ।