सुरेश तामाङ, काठमाडौं
निर्माणको काम थालेको १३ वर्ष बितिसक्दासमेत धोवीखोला करिडोरको काममा सन्तोषजनक देखिँदैन। करिडोरमा सहज तरिकाले सवारी गुडाउन सकेको छैन।
बजेटको अभाव, स्थानीयको अवरोध, अन्तर निकायबीच समन्वयको अभावलगायतले गर्दा यस कोरिडोरको निर्माणमा ढिलाइ भएको धोवीखोला कोरिडोर सुधार आयोजनाका प्रमुख दीपक श्रेष्ठले बताउनुभयो।
यसको निर्माण कार्य २०५९ सालदेखि नै थालिएको थियो। तर बल्ल आर्थिक वर्ष २०६७⁄०६८ देखि मात्रै निर्माणको कामले केही गति लिन थाल्यो। काम उही कछुवाकै गतिमा हिँडिरह्यो। हालसम्म यस आयोजनाले ३५ करोड निकासी गरेर २० करोड खर्च गरिसकेको छ भने आयोजनालाई वार्षिक ६० करोड आवश्यक रहेको आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो।
धावीखोला कोरिडोर सुधार आयोजनाले दिएको जानकारीअनुसार हालसम्म समग्र आयोजनाकै कामको प्रगति ४० प्रतिशत भएको छ। यस आर्थिक वर्षमा गर्नुपर्ने काम भने ५५ प्रतिशत सम्पन्न भइसकेको छ।
पहिलो चरणअन्तर्गतको वैजनी पुल (चाबहिल रिङरोड) देखि खैरोपुल (बाग्मती दोभान) सम्म खोलाको दुवैतर्फ ५ दशमलव ५ गरी जम्मा ११ किमी लम्बाइको ९ मिटर चौडा सडक ट्रइक खोल्ने कार्य सम्पन्न भएको छ।
देस्रो चरणको वैजनी पुलदेखि कपन भंगाल पुलसम्म खोलाको दुवैतर्फ ४⁄४ गरी जम्मा ८ किमी लम्बाइको ९ मिटर चौडा सडक ट्रइक खोल्ने कार्य ८० प्रतिशत काम सम्पन्न भएको छ। त्यस्तै, वैजनी पुलदेखि कपन भंगाल पुलसम्मको क्षेत्रमा (दुवैतर्फ) ९५ प्रतिशत नदी नियन्त्रणको कार्य सम्पन्न भएको छ। यस सडक खण्डमा भने धर्मया–गौरीगणेश र जावबाला जेभीले काम गरिरहेको आयोजनाले जनाएको छ।
चोक तथा मोड सुधारतर्फ हरियो पुल (बिजुलीबजार पुल), सिम्रिक पुल (हनुमानस्थान), सेतोपुल, रातोपुल, कालोपुल र पहेंलो पुल (भत्केको पुल) मा मोड सुधारका लागि ५ दशमलव ६२ रोपनी जग्गा अधिग्रहण गरी मोड सुधारको कार्य सम्पन्न भएको छ।
खैरो पुलदेखि वैजनी पुलसम्मको विभिन्न स्थानमा वातावरणीय सुधार गर्ने कार्यका लागि रूख बिरुवा रोप्ने कार्य गरिएको छ।
काठमाडौं उपत्यकाको भित्री रिङरोड विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोवीखोला कोरिडोरको निर्माण भइरहेको छ। यसको विकास निर्माणको काम धोवीखोला कोरिडोर सुधार आयोजनाले गरिरहेको छ।
काठमाडौं महानगरपालिकालगायत उपत्यकामै बढ्दै गइरहेको शहरी विकास सँगसँगै बढ्दो सवारी चापलाई व्यवस्थित गर्न यस कोरिडोरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारहरू बताउँछन्। विकास समितिका सदस्य सीता घिमिरे ओलीलगायत अन्य सदस्यहरूले पनि उपत्यकाको सवारी चाप अत्यधिक रहेको भन्दै यसको व्यवस्थापन गर्न यस्ता कोरिडोरको चाँडोभन्दा चाँडो विकास गर्नका लागि आवाज उठाउँदै आएका छन्।
त्यस्तै गरी, धोवीखोलामा हाल भइरहेको अनियन्त्रित अतिक्रमण र बस्ती विस्तारलाई व्यवस्थित गरी वातावरणीय सुधार गर्ने ध्येय रहे पनि निर्माणको काम भने धिमा गतिमा अघि बढिरहेको छ।
जापानी सहयोगी संस्था जाइकाको सन् १९९३ को अध्ययन प्रतिवेदनअनुसार भित्री रिङरोडको पूर्वतर्फको अंशका रूपमा धोवीखोला कोरिडोर सुधार आयोजनालाई प्रस्ताव गरिएको थियो।
कपन भंगाल पुलसम्म–चाबहिलको वैजनी पुलसम्म–खैरो पुल (बाग्मती दोभान) सम्म खोलाको दुवैतर्फ गरी जम्मा १९ किमि कोरिडोरको सडक खण्ड बन्नेछ। त्यस्तै यस कोरिडोरको निर्माण कार्य आर्थिक वर्ष २०७५⁄०७६ सम्म सम्पन्न गरिसक्ने जनाएको छ।
तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले धोवीखोला कोरिडोर सुधार आयोजना व्यवस्थापन उपसमिति गठन गरी यस कोरिडोरको निर्माण कार्यका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा दिएको थियो।
महानगरले आफूले निर्माण गर्ने भन्दै त्यसताका समितिसँग माग राखेको थियो। २०५९ वैशाख १७ देखि महानगरले यस आयोजनालाई सञ्चालनमा ल्यायो।
करिब ६ वर्ष सञ्चालन गरेपछि पूर्वाधार विकासका लागि बजेट अभाव जस्ता कारणहरू देखा पर्न गई महानगरबाट कार्य हुन नसकेपछि पुनः २०६४ पुस २ देखि तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिबाट नै आयोजनाको कार्य सञ्चालन हुन थाल्यो।
काठमाडौं उपत्यका नगर विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरणमा परिणत भएपछि यो आयोजना शहरी विकास मन्त्रालयअन्तर्गत रहेर सञ्चालित छ।
यस आयोजनाको क्षेत्र उत्तरमा वैजनी पुल (चाबहिल) देखि दक्षिणमा खैरोपुल (बाग्मती दोभान) सम्म खोलाको दायाँवायाँ दुवैतर्फ ५ दशमलव ५ किमि गरी जम्मा ११ किमि लम्बाइ रहेको छ। आर्थिक वर्ष ०७१⁄७२ देखि धोवीखोला कोरिडोर सुधार आयोजनाको क्षेत्र उत्तरमा कपन भंगाल पुलदेखि दक्षिणमा बैजनी पुल चाबहिलसम्म विस्तार गरिएको छ।
दोस्रो चरणको आयोजना क्षेत्र उत्तरमा कपन भंगाल पुलदेखि दक्षिणमा बैजनी पुलसम्म धोवीखोलाको दायाँवायाँ दुवैतर्फ ४⁄४ गरी जम्मा ८ किमि लम्बाइ रहेको छ।
तेस्रो चरणअन्तर्गत आयोजनाले आफ्नो तेस्रो चरणको कामका लागि सम्भाव्यता अध्ययन गर्न गृहकार्य थालेको छ। जसअनुरूप यस आयोजनाको कार्यक्षेत्र दक्षिणमा कपन भंगाल पुलदेखि करिब २ दशमलवप ७ किमि उत्तरतर्फ राम मन्दिर क्षेत्रसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। यसका लागि सम्भाव्यता अध्ययन गर्न परामर्श कार्य भइरहेको छ।
प्रतिक्रिया