सप्तरीमा १८ प्रतिशत वालवालिका विद्ययालय बाहिर


शिवहरी प्रसाद भट्टराई,राजविराज ।

सप्तरीमा ५ देखि १२ वर्ष उमेर समुहका १८ दशमलव ५० प्रतिशत वालवालिका विद्यालय वाहिर रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालय सप्तरीले वुधवार आयोजना गरेको विद्यालय भर्ना अभियान २०७४ को तयारी वैठकमा जिशिअ दोलराज पाण्डेले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।

यसैगरी, ५ देखि ९ वर्ष उमेर समुहका ५ प्रतिशत वालवालिका पनि विद्यालयको पहुँच वाहिर रहेको उनले जानकारी दिए । डोम, मुसहर लगायतका दलित वस्तिमा अहिले पनि विद्यालय नजाने वालवालिकाहरुको संख्या ठुलो रहेको भन्दै पाण्डेले ती समुदायमा वालवालीकाको जन्मदर्ता नगराएकाहरुको संख्या पनि उल्लेख्य रहेको वताए ।

आगामी वैसाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने र त्यसपछि घरदैलो अभियान मार्फत वालवालिका विद्यालय भर्ना गर्ने कार्यक्रम रहेको तयारी वैठकमा जानकारी दिईयो । गरिवी, वेरोजगारी र अभिभावकमै शिक्षा प्रति चेतना अभावले गर्दा सप्तरीमा विद्यालय नपुग्ने र विचैमा कक्षा छोड्ने वालवालिकाको संख्या वढि भएको पाण्डेले वताए ।

उनले भने–‘भर्ना भएका मध्ये पनि ४० प्रतिशत मात्रै नियमित कक्षामा आउने गरेका छन्, विचमै पढाई छाड्ने प्रवृत्ति पनि चुनौतीका रुपमा छ ।’

कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देव, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष फुलेश्वर कुमार मण्डल, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत देवशंकर यादव, सवल नेपालको स्पोन्सरसिप कार्यक्रमका शैलेन्द्र चौधरीलगायतले भर्ना अभियानलाई सफल वनाउन अपनाउनु पर्ने रणनीतिका विषयमा सुझाव दिएका थिए ।