अमृताले ल्याइन् आफ्नै नामको एल्बम

0
Shares

गायिका अमृता साम्बाहम्फे लिम्बुले गाएका आधुनिक गीतहरुको नयाँ गीतिअडियो एल्बम अमृता हङकङमा हालै आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। हङकङस्थित याक एन्ड यति होटलमा सम्पन्न गायिका लिम्बुको एकल गायन कार्यक्रम अमृताज म्युजिकल नाइटको अवसर पारेर उक्त एल्बम विमोचन गरिएको हो।

आधा दशकभन्दा अघिदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका लिम्बुको एल्बममा आठ गीत संगृहित छन्। पाँचथरमा जन्मिएकी यी गायिकाले आफ्नो यो एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरि लम्साल, विनोद खम्बु, सुमन राई, इन्द्र गुरुङ जस्ता स्थापित संगीतकारद्वारा संगीतबद्ध गीतहरु गाएकी छिन्। एल्बमका यी गीतहरु जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्सिका राई, सीता शेरचन, स्वप्लिन लिम्बुले रचना गरेका छन्।

एल्बमका दुई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। एल्बमको अर्जुन पोखरेलद्वारा संगीतबद्ध पहिलो गीत म त नुमाफुङ पो तको म्युजिक भिडियोमा गायिका लिम्बु आफैंले अभिनय गरेकी छिन्। युगल पोमो लिम्बुद्वारा निर्देशित जानु काम्बाङ लिङ्देनद्वारा रचित उक्त गीतको भिडियोमा गायिका लिम्बुलाई अभिनेता निराजन प्रधानले अभिनयमा साथ दिएका छन्। सुमन राईद्वारा संगीतबद्ध दोस्रो गीत काँडा जस्तै बिझिसक्योको भिडियोलाई भने जीबी लामाले निर्देश्ँन गरेका छन्। जसमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ। यो गीतका रचनाकार विर्सिका राई हुन् ।

५ वर्षदेखि काठमाडौंमा रहेर संगीतको प्रशिक्षणसमेत लिइरहेकी गायिका लिम्बुले हालसम्म करिब तीन दर्जन गीत रेकर्ड गरिसकेकी छिन्। प्रदर्शनको तयारीमा रहेको फिल्म रोमियोसहित झन्डै एक दर्जन फिल्ममा पाश्र्व गायन गरिसकेकी गायिका लिम्बुले नेपालका अधिकांश महोत्सवमा आफ्नो गायनकला प्रस्तुत गरिसकेकी छिन्। सांगीतिक कार्यक्रमको क्रममा कतार तथा हङकङ पुगिसकेकी गायिका लिम्बु सन् २०१४ मा सम्पन्न मिस मंगोलकी प्रतिस्पर्धीसमेत हुन्। उक्त प्रतियोगिताको उत्कृष्ट १० सम्म पुग्न सफल लिम्बुले प्रतियोगितामा बेस्ट स्माइलको अवार्डसमेत जितेकी थिइन्। गायिका लिम्बुले यसअघि गाएको झुम्के माया शीर्षकको गीत युट्युबमा लोकप्रिय भइरहेको छ।