कास्कीका भूकम्पपीडितलाई पहिलो किस्ता वितरण

0
Shares

धन बस्नेत, पोखरा
कास्कीका भूकम्पपीडितलाई आवास निर्माणका लागि पहिलो किस्ता स्वरूप रकम वितरण शुरु गरिएको छ। झन्डै २ वर्षको अन्तरमा कास्कीका भूकम्पपीडितले पहिलो किस्ता स्वरूपको रकम पाएका हुन्। भूकम्प कम प्रभावित १७ जिल्लाहरूका भूकम्प प्रभावित लाभग्राहीहरूसँग निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ताको रकम वितरण कास्कीबाट शुरु गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेबाट निजी आवास पुनर्निर्माणका लागी राहत हस्तान्तरण गरिएको छ। निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा पहिलो किस्ता वितरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले अन्नपूर्ण गाउँपालिकाका बारे विकलाई पहिलो किस्ताको रकम प्रदान गरेका थिए। प्राधिकरणले कास्कीको लुम्लेका ५० जना भूकम्प प्रभावितहरूलाई ५० हजार रुपियाँको चेक हस्तान्तरण गरेको छ। भूकम्पबाट घर पूर्ण क्षति भएहरूलाई सरकारले ३ किस्तामा ३ लाख रुपियाँ दिनेछ। सरकारले भूकम्पले क्षति पुर्याएका संरचनाबारे गरेका सर्वेक्षणबाट कास्कीमा १० हजार ७ सय ४९ घरधुरीलाई अनुदान दिने निर्णय भएको छ।

पहिलो चरणमा कास्कीका २ सय ५० जनालाई अनुदानको पहिलो किस्ता दिइने सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताए। घर बनाउँदा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्ने भन्दै पोखरेलले भूकम्प प्रतिरोधात्मक नभएमा सरकारले अन्य किस्ताको रकम रोक्नुका साथै कारबाहीसमेत गर्ने बताए। हालसम्म भूकम्पले अति प्रभावित १४ जिल्लामा मात्रै पुनर्निर्माणको पहिलो किस्ताको रकम वितरण हुँदै आएको थियो।

कम प्रभावित जिल्लामा कास्कीसहित तनहुँ, पर्वत, लम्जुङ, स्याङजा, पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी, चितवन, नवलपरासी, अर्घाखाँची, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा र धनकुटा छन्। सो अवसरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका उपनिर्देशक नारायण श्रेष्ठले घरका विभिन्न डिजाइनमध्ये रोजेर भूकम्प प्रतिरोधात्मक घर नै बनाउनुपर्ने बताए। कार्यक्रममा सांसद सीता गिरी, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाललगायतले अन्य घरघुरीलाई पनि छिटै रकम आउने बताएका थिए। भूकम्पका कारण १४ जिल्लामा बढी प्रभावित बनाएको र १७ जिल्लामा कम प्रभावित पारेको थियो।