५ वर्षमा रुपन्देहीमा ५ हजार उद्योग दर्ता


यमलाल भुसाल,बुटवल   ।

आर्थिक गतिविधिले चलायमान रुपन्देहीमा सेवामूलक उद्योग खुल्ने क्रम तीव्र भएको छ । पछिल्ला वर्षमा होटल तथा रेस्टुराँ, पर्यटन उद्योग, फर्निचर, खाद्य, राइसमिल, इन्जिनियरिङ वर्कसप, कृषि, पशुपक्षी, मत्स्यपालनलगायत उत्पादनमूलक उद्योगको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

पछिल्लो ५ वर्षमा पाँच हजार तीन सय ८६ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत युवराज पौड्यालले जानकारी दिनुभयो । सेवामूलक उद्योग दुई हजार तीन सय ७० रहेका छन् । “सेवामूलक उद्योग अहिले धेरैको रोजाइ बन्ने गरेको छ,” उहाँले भन्नुभयो ।

जिल्लामा करिब १० हजारको हाराहारीमा साना तथा ठूला उद्योग सञ्चालनमा रहेका छन् । १५ लाखदेखि पाँच कारोडसम्मको लगानीमा उद्योग खुल्ने क्रम जारी रहेको पौड्यालले बताउनुभयो ।
सेवामूलक उद्योग वृद्धि हुनुमा भारतबाट कच्चापदार्थ ल्याउन सजिलो तथा यहाँ प्रशोधन गरिएका वस्तु अन्य जिल्लामा पु¥याउन सहज भएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले बताउनुभयो ।

यहाँका ठूला र मझौला उद्योग अधिकांशमा भारतीय कामदारले रोजगारी पाए पनि साना तथा घरेलु उद्योगमा भने नेपाली कामदारले नै रोजगारी पाएका छन् । यहाँ सञ्चालित उद्योगमा करिब ६० हजार व्यक्तिले रोजगारी पाएको अनुमान छ । बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव हरि अर्याल खाद्य वस्तु प्याकिङ गर्ने, होटल, ट्राभल्स एजेन्सीको सङ्ख्यामा वृद्धि भएको बताउनुहुन्छ ।

घरेलु तथा सना उद्योेग कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा सेवामूलकतर्फ दुई हजार तीन सय ७०, उत्पादानमूलकतर्फ एक हजार नौ सय ९७, पर्यटन उद्योग ६ सय ८५ र कृषि तथा वनजन्य उद्योग दुई सय ९४ रहेका छन् ।

कार्यालयमा तीन करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग मात्र दर्ता हुने गरेका छन् । सरकारले तीन करोडसम्मका उद्योगलाई साना, तीन करोडदेखि १० करोडसम्मकालाई मझौला र १० करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगमा दर्ता गर्ने गर्दछ ।