विपना मुसिख्वाल
व्यासीका ९० वर्षीय कमलबहादुर सुवाल र ७६ वर्षीय कृष्णकुमारी सुवालका दम्पती झन्डै दुई वर्षपछि आफ्नो घरमा फर्किने तयारीमा छन्। २०७२ सालको विनाशकारी भूकम्पले घर भत्केका यी दम्पती व्यासीकै टहरामा बस्दै आएका थिए। सरकारले राहतस्वरूप पुनर्निर्माणका लागि पहिलो किस्ता दिएसँगै यी दम्पतीले घर बनाउन थालेका हुन्।
कृष्णकुमारी सुवाल भन्छिन्– ‘भूकम्पले घर भत्काएपछि हामी टहरामा बस्न थालेका हौं। सरकारले घर बनाउन ५० हजार रुपियाँ दियो। अनि छोराहरूले जम्मा गरेको पैसाबाट घर बनाएको हो। अब नयाँ वर्षका लागि घरमा बस्न जान्छौं।’ उनी भन्छिन्– ‘टहरामा बसेर हामीले धेरै पीडा भोग्यौं। परिवारसँग बाध्य भएर छुट्टिएर बस्यौं। अब घरमा गएर सँगै बस्छौं।’ लामो समयपछि घर फर्किने भएकाले यी दम्पती खुसी देखिन्छन्।
यी दम्पतीजस्तै सानुमाया सुवालको दम्पती पनि पहिलो किस्ता पाएपछि घर बनाउन थालेका छन्। उनीहरू देकोचाको टहरामा बस्दै आएका छन्। उनी भन्छिन्– ‘भूकम्पपछि हामी केही दिन ख्वप कलेजमा बसेका थियौं। देकोचामा मानव आस्था संस्थाले टहरा बनाइदिएपछि टहरामा बसेको हो। टहरामा हामी बूढाबूढी बस्छौं। छोरा र बुहारीहरू कोठामा बस्ने गरेका छन्।’
सरकारले राहतस्वरूप ५० हजार रुपियाँ मात्र दिएको छ। यसले जग खन्नका लागि नै पुग्दैन। घर बनाउनका लागि बाध्य भएर नै खेत बेचेको छु। जग्गाभन्दा घरको महत्त्व धेरै भएकाले खेत बेच्नुपरेको यी दम्पतिको गुनासो रहेको छ।
सुवाल भन्छिन्– ‘भूकम्पमा घर भत्केर घरभित्र रहेको सबै सामानहरू पुरियो। केही दिन अरूसँग भाँडाकँुडा मागी खानुपर्यो। अहिले पनि सरसफाइका लागि पानीको कमी छ। विद्युत् प्राधिकरणले बत्तीको लाइन काटेपछि अँध्यारोमा बस्नुपरेको छ।’ यसका लागि भए पनि चाँडै घर बनाएर सर्ने उनीहरू बताउँछन्।
जितपुरका राजकुमार तसिजुले अनुदान रकम प्राप्त गरेपछि घर बनाउन थालनी गरेका छन्। उनको घर पनि भूकम्पबाट पूर्ण क्षति भएको थियो। परिवारसँग भिन्दै बसेका उनी भाइको परिवार र आमाबुबासँग एउटै घरमा बसेका थिए। उक्त घर पनि भूकम्पले भत्केपछि परिवारसँगै नजिकैको घरमा बसेका छन्। तसिजुका पत्नी हीरामाया तसिजु भन्छिन्– ‘यो घरमा हामी एक⁄एक कोठा बाँडेर बसेका छौं। ठाउँ साँघुरो भएकाले छोराछोरीलाई पढ्नलाई समेत समस्या छ। यसका लागि भए पनि चाँडोभन्दा चाँडो घर बनाउनुपरेको छ।’ सरकारले दिएको अनुदानले जग बनाउनका लागि नपुगे पनि केही राहत पुगेको महसुस गरी घर बनाउन थालेको यी दम्पतीको भनाइ रहेको छ।
उनीहरू मात्र होइन, यहाँका अधिकांश भूकम्पपीडितले घर बनाउन थालेका छन्। भूकम्पबाट भक्तपुर जिल्लामा २६ हजार ६६ घर पूर्णरूपमा क्षति भएको थियो। जसमध्ये पहिलो किस्ताको राहत २० हजार १ सय ५६ जनाले लिएका छन्। ५ हजार ९ सय १० लाभग्राहीले गुनासो फारम भरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय भक्तपुरले जनाएको छ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये यस जिल्लामा ढिला अनुदान वितरण गरिएको थियो। फागुन मसान्तभित्र ८० प्रतिशत लाभग्राहीको खातामा रकम पुर्याएको सचिवालयका कार्यालय प्रमुख मुरारी वस्तीले बताए। वस्ती भन्छन्– ‘सरकारले यो राहत पीडितलाई घर बनाउनका लागि हौसला स्वरूप दिएको हो। यसका साथै निःशुल्क रूपमा प्राविधिक सहयोगका लागि २५ जना इन्जिनिएर खटाएको छ। आवश्यक परेको समयमा अरू सहयोग पनि गर्नेछ। यसको प्रयोग जनताले गर्न सक्नुपर्छ।’
उनलाई राहत वितरणभन्दा पहिले नै भवन बनाउने भूकम्पपीडितलाई कसरी अनुदान रकम वितरण गनुहुन्छ भनी प्रश्न राख्दा भन्छन्– ‘हामीले पुस मसान्तदेखि मात्र अनुदान रकम वितरण गरेका थियौं। योभन्दा पहिले घर बनाउने पीडितहरूले प्राविधिकसँग समन्वय गरी मापदण्डअनुरूपको भवन निर्माण भएको पुष्टि भएमा एकमुष्ठ रकम वितरण गर्नेछौं।’
जिल्ला प्रशाशन कार्यालयका अधिकृत द्रोण पोखरेलले दोस्रो किस्ताका लागि कुनै पनि पहल नभएको उल्लेख गरे। ‘पहिलो किस्ताको रकम लिने लाभग्राहीको घरमा हामीले प्राविधिक टोली पठाइसकेका छौं’, उनी भन्छन्– ‘टोलीले दिएको निवेदनको आधारमा दोस्रो किस्ताका लागि रकम वितरण गरिनेछ। यसका लागि पीडितले पनि टोलीको हस्ताक्षरसहितको निवेदन पेस गर्नुपर्ने छ। हालसम्म यस कार्यालयमा दोस्रो किस्ताका लागि निवेदन नै आएको छैन।’
(प्रशिक्षार्थी)
प्रतिक्रिया