सोनाक्षीका सपना

0
Shares

फिल्मी दुनियाँमा आउनुभन्दा पहिले कतिपय कलाकारको सपना कलाकारभन्दा पनि अरू केही नै बन्छु भन्ने हुन्छ। फिल्मी दुनियाँमा प्रवेश गरेर सफलता हासिल गरेपछि कसैले डाक्टर, कसैले इन्जिनियर त कसैले पाइलट बन्छु भन्ने सपना थियो भन्ने अनुभव शेयर गरेको सुन्न पाइन्छ।

बलिउड फिल्म नगरीमा पनि धेरै कलाकारको रियल लाइफको सपना रिल लाइफमा आएपछि मात्र सुन्न पाइन्छ। यस्तै बलिउडमा प्रवेश गर्नुअघि बलिउड दबंग गर्ल सोनाक्षी सिन्हाको पनि केही सपना थिए। उनी फिल्ममा प्रवेश गर्नुभन्दा अघि एक फेसन डिजाइनर इन्स्टिच्युटमा फेसन डिजाइन पढिरहेकी थिइन्। तर, उनले हालै बताएअनुसार उनी अन्तरिक्षयात्री बन्न चाहन्थिन्।

सन् २०१० मा फिल्म दबंगबाट आफ्नो करिअर शुरु गरेकी उनले एक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा आफ्नो फरक सपनाको बारेमा खुलाएकी हुन्। ‘म इमानदारिताको साथ भन्छु मेरो अन्तरिक्षयात्री बन्ने सोच थियो। तर, गणित यति खराब थियो कि मलाई कुनै पनि स्थानमा भर्ना लिइएन’, उनले खुलाएकी छिन्– ‘मलाई विभिन्न खेलहरु खेल्न मन पर्छ। टेनिस मेरो मन पर्ने खेल हो। मलाई पौडी खेल्न निकै मन पर्छ। त्यसैले एकपटक म पौडीबाज पनि बन्न चाहन्थे। फेसन डिजाइनरको रूपमा म स्केच पनि बनाउँछु। म कलाकार बन्न चाहन्थें, तर म अभिनेतृ बनें। यहाँ मजस्ता कयौं मानिस छन्, जो आफ्नो करिअरलाई विकल्प बनाइरहेका छन्।’