रेडियो नेपाल सक्षम संस्था हो– सञ्चारमन्त्री कार्की


काठमाडौँ, २० चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो नेपाल रुग्ण संस्था नभई अब प्रतिपर्धी सक्षम संस्था भएको बताउनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को ६७ औँ वार्षिक उत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले रेडियो नेपालले आफूलाई प्रतिपर्धी बनाउन काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपालले मुलुकको भाषा, साहित्य, कला र संस्कृतिमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै उहाँले राष्ट्रव्यापी गीत सङ्गीत प्रतियोगिता आयोजना गरेर यसले दूरराजका प्रतिभालाई बाहिर ल्याउने काम गरेकामा प्रशंसा गर्नुभयो ।

मन्त्री कार्कीले रेडियो नेपालले मुलुकमा बनाएको परिचय आगामी दिनमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् रेडियो नेपालका अध्यक्ष महेन्द्रमान गुरुङले यस संस्थाले समाजको आर्थिक सामाजिक र राजनीतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सङ्घीय व्यवस्थाअनुसार प्रादेशिक संरचना बनाउन काम सुरु गरिएको जानकारी गराउनुभयो ।

सरकारका भावना र सन्देश जनतासमक्ष पु¥याउन रेडियो नेपालको सबैभन्दा बढी आवश्यकता छ भन्दै सचिव गरुङले त्यसका लागि कर्मचारीको क्षमता अभिवृद्धि र स्रोत साधनको अधिकतम् सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संस्थाका गतिविधिका बारेमा जानकारी दिँदै रेडियो नेपालले स्थानीय सामग्री र सीमान्तकृत समुदायका भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले रेडियो नेपाललाई मुलुकभित्र र विश्वभरी प्रष्टसँग सुनाउन एएम, एफएम, इन्टरनेट र एप्स प्रविधिमार्फत प्रसारण सेवाको पँहुच बढाउने योजना रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला, नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल र महाप्रबन्धक गोविन्द रोकालगायत उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा सञ्चारमन्त्री कार्कीले नेपाली भाषाका प्रथम महिला सङ्गीतकार शान्ति ठठाल र गीत सङगीत क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुहुने वरिष्ठ सङ्गीतकार शम्भु राईलाई जनही रु ५१ हजार नगदसहित ताम्रपत्रले सम्मानित गर्नुभएको थियो ।

त्यस्तै रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक गीतसङ्गीत प्रतियोगितामा स्वरमा प्रथम हुने दुर्गा परियार, सङ्गीतमा प्रथम हुने चन्दनकुमार श्रेष्ठ र गीत÷शब्दमा प्रथम हुने प्रकाश केसीलाई पुरस्कृत गरिएको थियो ।

नेपाली र अङ्ग्रेजी भाषाका अतिरिक्त थप २१ भाषामा २४ सै घन्टा समाचार र कार्यक्रम प्रसारण गर्दै आएको रेडियो नेपालको स्थापना २००७ साल चैत २० गते भएको हो । रासस