स्विजरल्यान्डको फेस्टिभलमा नेपाली फिल्म

0
Shares

फेस्टिभल इन्टरनसनल डी फिल्म्स् फ्रि वर्गको आयोजनामा स्विजरल्यान्डमा जारी फ्रि वर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा न्यु टेरिटरी विधाअन्तर्गत यस वर्ष विभिन्न नेपाली फिल्मको विशेष प्रदर्शनी हुने भएको छ।

अप्रिल ९ सम्म चल्ने महोत्सवमा नेपालको पहिलो रंगीन फिल्म कुमारीदेखि सिन्दुर, वासुदेव, कागबेनी, नुमाफुङ, मुकुण्डो, सुनगाभा, लुट, सेर्दाक, कालो पोथी, हु विल बि अ गुर्खा, सुन्तली, हाइवे, ह्वाइट सन (सेतो सूर्य) लगायतका फिल्म प्रदर्शन हुने चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले जानकारी गराएका छन्। उनका अनुसार सर्ट फिल्ममा दद्या, झा लो, काफल पाक्यो, मलामी, छोरा र भ्वाइस लेस नामक फिल्म पनि प्रदर्शन हुनेछन्। त्यसै गरी नेपालमा छायांकन गरिएका विदेशी फिल्ममध्ये हलिउडको एभरेस्ट, कोरियाको हिमालय, जापानको एभरेस्टस मिट अफ द गड्स, एरिक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस पनि समेटिएका छन्। महोत्सवमा अन्तर्राष्ट्रिय फिल्मको फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत ह्वाइट सन र सर्ट फिल्ममा झा लोले अन्य विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नेछन्। यस महोत्सवमा नेपालका निर्देशक सुवर्ण थापा अन्तर्राष्ट्रिय जुरीमा रहेका छन् भने अप्रिल ५ मा हुने नेपाली फिल्मको विकाससम्बन्धी पब्लिक राउन्ड टेबल डिस्कसनमा निर्देशक दीपक रौनियार, सुवर्ण थापा, सेनाङ ग्याम्जो तामाङ र निर्माता रामकृष्ण पोखरेललगायतले सहभागिता जनाउनेछन्। महोत्सवमा नेपाली फिल्मको विशेष प्रदर्शनी हुनमा चलचित्र विकास बोर्डको महत्त्वपूर्ण भूमिका रहेको जनाइएको छ। महोत्सवमा प्रदर्शन हुने फिल्महरुलाई अंग्रेजी र फ्रेन्च भाषामा समेत सबटाइटलिङ गरिएको छ।

यस्ता महोत्सवमा नेपालको सहभागिताले एकातिर नेपाली फिल्मको दायरा फराकिलो बनाउने र अर्कोतिर पर्यटन प्रवद्र्धन तथा नेपाल पनि विदेशी फिल्म छायांकनका लागि उपयुक्त गन्तव्य हुनसक्छ भनी सन्देश प्रवाह गर्ने विश्वास बोर्ड अध्यक्ष राईले व्यक्त गरेका छन्।