नेपालकै नमुना सडक निर्माण कार्यमा समस्या


यमलाल भुसाल, बुटवल

निर्माणाधीन बुटवल वेलवास–वेथरी सडक परियोजनामा पर्ने भौतिक पूर्वाधार, रुखहरू र बिजुलीका पोल समयमै व्यवस्थापन नहुँदा निर्माण कार्यमा समस्या उत्पन्न भएको छ। नेपालकै नमुना सडकको नामले चिनिने सडक निर्माण कार्यमा समस्या भएपछि समयमा नै सडक बन्न नसक्ने देखिएको छ।

सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने, सडकको दुवै साइडमा हरियाली हुने र दुवै साइडबाट सडक निर्माण हुन लागेकाले यो सडकलाई नेपालकै नमुना सडकका रूपमा लिइएको छ। वेलवासदेखि वेथरीसम्मको कुल साढे २१ किलोमिटरको सडक निर्माणका लागि वेलवासदेखि ११ किलो मिटरसम्मका लागि वज्र गुरु निर्माण सेवा कम्पनी जेभी र बांँकी साढे १० किलोमिटर सडकको निर्माणका लागि रोमन जेजेईसीसीएल जेभी कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्यलाई अगाडि बढाएका छन्।

दुवै ठेक्काको गरी १ अर्ब २८ करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई निर्माणका लागि स्वीकृत पाएका हुन्। निर्माण कम्पनीहरूले अवरोध नभए निर्धारित मितिभन्दा ६ महिना पहिले नै काम सम्पन्न गर्ने दाबीसमेत गरेका छन्। गत असोजबाट काम शुरू गरेका दुवै निर्माण कम्पनीले सडक निर्माणको कामलाई युद्धस्तरमा अगाडि बढाए तापनि सडकको बीच भागमा रहेका रुखहरू, बिजुलीका पोल र नहरको जग्गामा बनाइएका घरहरूका कारण निर्माणमा समस्या उत्पन्न भएको रोमन जेजेईसीसीएल जेभी कम्पनीका प्रोजेक्ट म्यानेजर राजदेव महतोले बताउनुभयो।

सडक निर्माणका क्रममा सडकको बीच भागका भौतिक संरचना, रुखहरू र बिजुलीका पोल हटाउने निकायले समयमै नहटाइदिँदा काम अगाडि बढाउनमा समस्या भएको वज्र गुरु निर्माण सेवा कम्पनी जेभीका इन्जिनियर मनोज यादवको कथन छ। उक्त सडकअन्तर्गत बीच भागमा नहर रहेकाले नहरको क्षेत्राधिकारभित्र रहेको जग्गाका रुखहरू डिभिजन सिँचाइ कार्यालयले हटाइदिनुपर्ने बताउनुहुन्छ जिल्ला वन कार्यालयका प्रमुख रोमराज लामिछाने।

वन क्षेत्रभित्र रहेका रुखहरूको व्यवस्थापन गर्ने काम वन कार्यालयको हो ऐलानी र प्रति जग्गाको हकमा जिल्ला विकास समितिले गर्ने हो र नहर तथा सिँचाइ क्षेत्रको जग्गामा रहेका रुखहरूको व्यवस्थापन सिँचाइ कार्यालयले गर्ने कानुनी व्यवस्था रहेको वन कार्यालयका प्रमुुख लामिछानेले बताउनुभयो। उता डिभिजन सिँचाइ कार्यालय रूपन्देहीका डिभिजन इन्जिनियर अक्षरगोपाल श्रेष्ठले उक्त नहर सिँचाइ कार्यालयमा दर्ता नभएको बताउँदै कार्यालयले रुख काट्न नरोकेको र काट्नका लागि आदेश दिन पनि नपर्ने बताउनुभयो।

सो सम्बन्धमा डिभिजन सडक कार्यालय बुटवलका डिभिजन इन्जिनियर मेघराज मरासिनीले निर्माण कम्पनीहरूले उक्त सडकको निर्माण कार्य प्रभावकारी रूपमा अगाडि बढाएको बताउँदै निर्माण क्षेत्रमा देखिएका रुखहरू भौतिक पूर्वाधार र बिजुलीका पोलको समयमै व्यवस्थापन नहुँदा निर्माण कार्यमा समस्या भएको बताउनुभयो।
सडक निर्माण स्थलमा रहेको नहर र सो क्षेत्रमा रहेका रुखहरूको सम्बन्धमा डिभिजन प्रमुख मरासिनीले वन कार्यालय र सिँचाइ कार्यालयमध्ये कसको क्षेत्र अधिकारभित्र पर्दो रहेछ भनी नापी कार्यालयबाट लगत लिँदा सिँचाइ कार्यालयको नाममा उक्त नहर रहेको देखिएकाले समस्या समाधानका लागि सिँचाइ कार्यालयलाई पत्राचार गरिएको बताउनुभयो।