महानगर प्रमुखद्वारा कार्ययोजना सार्वजनिक


ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकामा नयाँ कार्यकारी आउनासाथ आफ्ना कार्ययोजना सार्वजनिक गर्ने गरेका छन्। तर काम भने न्यून मात्र हुने गरेको छ।

जनताले सोचेअनुसार काम गर्ने प्रतिबद्धता बोकेर महानगरको कार्यकारी अधिकृतको बागडोर सम्हाल्न आएका अधिकांश कार्यकारीले सार्वजनिक गरेका कार्ययोजनाअनुसार काम गर्न सकेका छैनन्।

म त काम गर्न आएको हुँ , गरेरै देखाउँछु। अरू कार्यकारीले के गरे भन्नुभन्दा पनि मेलै कसरी काम गर्नेछु र गरिरहेको छु भन्ेन विषयमा पछि मूल्याङ्कन गर्नु आवश्यक हुन्छ। हिजो शुक्रबार ३० बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएका कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले आफूले सार्वजनिक गरेका योजना पूरा गरेरै छाड्ने दाबी गर्नुभयो।

कामपाले तत्कालबाटै कार्यान्वयन गर्ने गरी सुधारका ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। नागरिकलाई सहज सेवा दिने उद्देश्यलगायतका पक्षबाट प्रेरित भई तत्काल सुधारको कार्ययोजना, २०७३ सार्वजनिक गरेको हो। उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई साक्षी राखेर सार्वजनिक गर्नुभएको कार्ययोजनामा १ महिनादेखि १ वर्षसम्मको कामको विवरण उल्लेख गरिएको छ।
कार्ययोजनामा ६ महिनाभित्र राजधानीमा रुख रोप्नेदेखि एक महिनाभित्र महानगरका प्रत्येक विभागबाट ३÷३ जनाको र्यापिड रेस्पोन्स टिम परिचालन गर्नेसम्मका विषय उल्लेख गरिएको छ। सो टोलीले जनताको घरदैलोमा पुगेर समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित विभागलाई निर्देशन दिने उल्लेख गरिएको छ।

राजधानीको भित्री सडक सफाइ, लगानी बोर्ड नेपालबाट फोहरमैलाको व्यवस्थापन निजी क्षेत्रमा हस्तान्तरण भइसकेपछि सफाइ कर्मचारीहरूलाई भित्री सडक र टोल सफाइमा लगाउने, सफाइ कर्मचारीहरूलाई काठमाडांै क्लिनर नाम दिई हाफ ज्याकेट र टोपीसहित कार्यस्थलमा खट्ने गरी पहिचान दिने ३ महिनाभित्र सूर्योदय अगावै फोहर उठाउने प्रबन्ध मिलाउनेलगायतका कार्ययोजना सार्वजनिक गर्नुभएको छ।

सगरमाथा चढ्नुअघि वेस क्याम्पमा पुग्नैपर्छ, त्यसैले मैलै उपप्रधानमन्त्रीको अघि योजना सार्वजनिक गरेको हो उहाँले आफूले सार्वजनिक गरेको योजनालाई सहयोग नगर्ने कर्मचारीमाथि कारबाही गर्नेसमेत चेतावनी दिनुभयो।

नक्सा शाखामा वरिपरि घुम्ने विचौलीयाको अन्त्य गर्ने, टोलटोलमा घर बनाउने ठेकेदारलाई महानगरमा सूचीकृत हुन आह्वान गर्ने र उनीहरूलाई प्रमाणपत्र दिने, नक्शा पास, घर निर्माण इजाजतलाई व्यवस्थित गर्ने सोका लागि महानगरपालिकामा कार्यरत इन्जिनियरलाई नै जवाफदेही बनाउने, ठूला घर निर्माण गर्दा निर्माणमा संलग्न इन्जिनियरको नाम र मोबाइलसहितको डिस्प्ले बोर्र्ड राख्ने, सार्वजनिक सम्पत्ति, जग्गा, नदी उकास, सम्पदासमेतको लगत अद्यावधिक र संरक्षण गर्न नापी कर्मचारीको छुट्टै युनिट गठन गर्नेलगायतका योजना सार्वजनिक गर्नुभएको छ। योजना सार्वजनिक गरिरहँदा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले महानगरको अभियान नौलो साथै अनुकरणात्मक भएको बताउनुभयो। प्रभावकारी र समृद्ध स्थानीय सरकार निर्माणका लागि यो अभियान महत्वपूर्ण प्रयास भएको उहाँले बताउनुभयो।
उहाँले सडक सफा गर्ने, बाटा छेउका घरहरूमा रंगरोगन गर्नेलगायतका कतिपय सार्वजनिक गरिएका योजनाहरू समान्य भए पनि तिनको प्रभाव महत्वपूर्ण रहने दाबी गर्नुभयो।

योजना त ल्याउनुभयो तर कार्यन्वयन गर्न कडाइका साथ लाग्नुहोला भन्दै प्लास्टिकको झोला प्रयोगमा निषेधका साथै पुरातात्विक महत्वका सार्वजनिक तथा निजी सम्पदा र संरचना संरक्षण गर्न महानगरले विशेष योजना ल्याउनुपर्ने उहाँको सुझाव थियो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले महानगरले थालेका काममा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राष्ट्रियगानका रचनाकार ब्याकुल माइलालाई महानगरको विकास दूत नियुक्त गर्ने बताउनुभयो।

उहाँले आफूले सार्वजनिक गरेको योजना पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। योजनामा निर्माण स्थलमा जथाभावी सडकमा निर्माण सामाग्री राख्न नदिने, हटाउन लगाउने, नभए जफत गर्ने सो कार्यका लागि डोजर, लोडर, ट्रिपर र नगरप्रहरीको मोबाइल भ्यानको प्रयोग गर्ने उल्लेख छ।

त्यस्तै पहिलो चरणमा ३० देखि ५० मिटर खण्डसम्म पिच गर्दै धुलो र हिलो मूल सडकमा आउने स्रोत घटाउँदै जाने, मूल सडकसँगै जोडिएका स्थानमा भएका ग्यारेज, वर्क सप, गोदाम, पार्किङ वा अन्य संरचना भएका स्थानबाट सोझै सवारी आवत–जावत गर्दा त्यस्ता स्थानको धुलो र हिलो बाहिर आएको छ भने त्यसलाई सुधार्न प्रत्येक व्यवसायीलाई ब्लक विछ्याउन वा ढलान गर्न र धुलो बन्द गर्न लगाउनेलगायतका योजना सार्वजनिक गरिएको छ।