इस्लामावादमा घन्कियो नेपाली संगीत


पाकिस्तानस्थित नेपाली दूतावासले इस्लामावादस्थित पाकिस्तान नेसनल काउन्सिल अफ आर्टस्सँगको सहकार्यमा नेपाली सागीतिक साँझ २०१७ आयोजना गरेको छ। दूतावासद्वारा जारी विज्ञप्तिमा नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध स्थापनाको ५७ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

नेपालको कला र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ख्यातिप्राप्त गायक आनन्द कार्कीका साथमा गायिका प्राश्ना शाक्यले हिट गीतहरु प्रस्तुत गरेर दर्शकलाई उत्साहित बनाएका थिए। मेची कोशी कलकल गर्ने सुन्दर मेरो देशबाट सांगीतिक कार्यक्रम शुरु गरेका गायक कार्कीले जे जे हुन्छ यहाँ पर्दापछाडि गाएर नेपाली र पाकिस्तानी संगीतप्रेमीलाई मोहित पारेका थिए भने पाकिस्तानी गायक फारुक सतारल आनन्दकोे यी हल्लाहरु हुन् तिमीले सुनेका गाउँदाको मजा बेग्लै थियो।

आनन्द र प्राश्नाले युगल गीत गाएरसमेत दर्शक तताएका थिए। उनीहरुले ए कान्छा ठट्टैमा बैंश जान लाग्यो, मोहनी लाग्ला है, वनमा फुल्यो फूलजस्ता गीत गाएर सांगीतिक आनन्द दिएका थिए।

गायक कार्की र गायिका शाक्यले सो अवसरमा उर्दू गीतहरुसमेत गाएर माहौल तताएका थिए। कार्कीले मेहन्दी हसनको मुझे तुम नजरसे गिराहे हो गाएका थिए भने प्राश्नाले आवाज दे कहाँ गाएकी थिइन्। दुई देशबीचको कला आदानप्रदानका सिलसिलामा पाकिस्तानी कलाकारहरुले नेपाली नृत्य, गायन तथा संगीत प्रस्तुत गरेका थिए।

पाकिस्तानी परराष्ट्रमन्त्री महामहिम सरताज अजिजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धको चर्चा गर्दै कला र संस्कृतिका धनी दुई मुलुकबीच सांस्कृतिक आदान प्रदान हुनु महह््वपूर्ण हुने बताए।

उनले नेपालको कला, संस्कृति तथा संगीत बारेमा संक्षिप्त रूपमा प्रकाश पार्नुका साथै यस प्रकारको कार्यक्रमले एक अर्का मुलुकको सँस्कृति बुझ्न र अनुभव गर्न मद्दत पुर्याउनुभएकोले दूतावासले सांगीतिक कार्यक्रमको आयोजना गरेको बताए।

त्यसैगरी प्रमुख अतिथि सरताज अजिजले नेपाल तथा पाकिस्तान दुई असल छिमेकी रही आएको चर्चा गर्दै नेपाली दूतावासले गरेको प्रयास सकारात्मक र उदाहरणीय भएको तथा यस्ता कार्यक्रमले दुई मुलुकबीच रहेको सुमधुर सम्बन्धम थप मजबुद बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा संसद् सदस्यहरु, पूर्वमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश, व्यवसायी, इस्लामावादस्थित विदेशी नियोगका प्रमुखहरुलगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा इस्लामावादस्थित संयुक्त राष्ट्र संघलगायत विभिन्न अन्तर्र्रािष्ट्रय संघसंस्थामा कार्यरत नेपाली तथा विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको समेत उपस्थिति थियो।

यसैबीच दूतावासकै आयोजनामा पकिस्तानको सांस्कृतिक शहर मानिने लाहोरमा पनि शुक्रबार सोही सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।