आजबाट युरो–४ इन्धन



दीपेन्द्र थापा, काठमाडौं

नेपाल आयल निगमले आजबाट युरो–४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ। सन् २००७ मा नै युरो ४ मापदण्डको इन्धनको अवधारण आए पनि सन् २०१० मा विश्व बजारमा लागू भएको थियो। हाल युरोपियन र विकसित मुलुकले सन् २०१६ बाट युरो ६ मापदण्डको इन्धन बजारमा लागू भइसक्दा पनि नेपालमा भने भर्खर मात्र युरो ४ मापदण्डको इन्धन आउन लागेको हो।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) सँग आगामी सन् २०२२ मार्चसम्मका लागि इन्धन खरिद सम्झौता नवीकरण गर्दै आज अप्रिल १ बाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोखरेलले बताउनुभयो। हाल नेपालले युरो–३ मापदण्डको इन्धन आयात र वितरण गरिरहेको छ।

प्रवक्ता पोखरेलले भन्नुभयो– ‘आजबाटै आईओसीले नै युरो ४ मापदण्डको तेल प्रयोगमा ल्याउने भएपछि नेपालमा पनि सोही मापदण्डको आयात हुने हो, युरो ४ मापदण्डको तेल गुणस्तर राम्रो हुने भएकाले सवारीसाधनको आयु बढ्नुका साथै वातावरण प्रदूषणमा कमी आउने, सल्फरको मात्रा कमी हुन्छ।’ भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १ देखि युरो–४ मापदण्डको इन्धन प्रयोगमा ल्याउने भएपछि नेपालमा पनि सोही मापदण्डको इन्धन आयात हुने भएको हो।

अब आउने तेल युरो–४ मापदण्डको भए पनि आयात गर्दा त्यसको नाम भने बीएस (भारत स्टान्डर्ड) –४ रहने निगमले जानाएको छ। युरोपियन कमिसनका अनुसार विश्व बजारमा युरो ४ मापदण्डको तेल, डिजेलमा र पेट्रोलमा ५० पीपीएम (पार्टस पर मिलियन) सम्म विशालु सल्फरजन्य पदार्थ रहने मान्यता छ।
अर्थात् १ लिटर पेट्रोलियम पर्दाथमा शून्य दशमलव शून्य ५ मिलिलिटर विषालु सल्फरजन्य पदार्थ रहन्छ। युरो ४ मापदण्डको तेल प्रयोगले वातावरण प्रदूषणमा कमी आउनुका साथै इन्जिनको पाबर र माइलेज बढाउनेछ। त्यस्तै यसको प्रयोगले विशालु ग्यासको उत्र्सजनमा पनि कमि आउनेछ।

गत सोमबार भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालबाट आपूर्तिमन्त्री दीपक बोहोराको उपस्थितिमा आईओसीको कार्यकारी निर्देशक पिके दास र आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सम्झौतापत्रमा संयुक्तरूपमा हस्ताक्षर गरेका थिए।
इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले हाल प्रयोग भइरहेको युरो–३ मापदण्डको इन्धन विस्थापन गरी युरो–४ मापदण्डको तेल प्रयोगमा ल्याइसकेकाले निगमले नेपालमा समेत सोही मापदण्डको तेल आयात गर्न लागेको हो।

आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार युरो–४ मापदण्ड तेल आयातपछि प्रतिलिटर ४० देखि ५० पैसा निगमलाई आर्थिक भार थपिनेछ। आईओसीसँग सन् १९७४ देखि पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता हुँदै आएको छ। गत वर्ष भारतीय नाकाबन्दीको समयमा चीनबाट युरो–४ मापदण्डका १३ लाख लिटर पेट्रोल आयात भएको थियो। मूल्यमा भने यसबाट कुनै हेरफेर नहुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्