काठमाडौं महानगरपालिकामा कांग्रेस–एमालेबीच प्रतिस्पर्धा हुने


रामकृष्ण चापागाईं
काठमाडौं
स्थानीय तहको उम्मेदवार छनोटको चर्चा चलिरहँदा काठमाडौं महानगरपालिकालाई पनि महत्त्वका साथ हेरिएको छ।

केन्द्रीय सरकार रहने काठमाडौंमा महानगरपालिकाको प्रमुख हुन मुख्य दलका प्रभावशाली व्यक्तिको दौडधुप चलिरहेको छ। महानगरपालिकाको प्रमुखको उम्मेदवारका लागि बहालवाला मन्त्री र सांसदहरूको नामसमेत चर्चा चलेको छ। उनीहरू बहालमा रहेको पदबाट राजीनामा दिएर उम्मेदवार बन्न नपाउने हैन, तर बहालवाला मन्त्री र सांसदहरू उम्मेदवार नहुने सम्भावना बढी रहेको छ।

स्थानीय निर्वाचनमा महानगरपालिकामा मुख्य गरी प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरिए पनि एकीकृत माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव पनि राम्रै रहेको देखिन्छ। ३ लाख २० हजारभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकामा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ। ३२ वटा वडा कायम गरिएको यो महानगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा विजयी हुन कम्तीमा पनि ७० हजारको हाराहारीमा मत ल्याउनुपर्ने अनुमान छ।

नेवार जातिको बाहुल्य रहेको यो नगरपालिकामा ४४ प्रतिशत जनजाति मतदाता रहेको बताइन्छ। चुनाव जित्ने रणनीतिमा लागेका प्रमुख दलहरूले यो महानगरपालिकामा प्रमुखमा नेवार जातिलाई उम्मेदवार बनाउने अनुमान गरिएको छ।

महानगरपालिकाको प्रमुखको उम्मेदवार तय गर्दा प्रमुख दलहरूले अन्य गाउँपालिका र नगरपालिकाको भन्दा बढी उम्मेदवारको विशेष क्षमतालाई पनि हेर्ने भएका छन्। काठमाडौंलाई राम्रोसँग बुझेका,े विभिन्न जातजाति, धर्म संस्कृतिको जगेर्ना गर्न सक्ने मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनसक्ने दूरदर्शी क्षमता भएको उम्मेदवारको खोजी गरिने बताइएको छ। कुनै पनि राजनीतिक दलको सदस्यता नलिएका नै निर्णायक मत हुने अनुमान गरिएको काठमाडौं महानगरपालिकामा उम्मेदवार बन्न र निर्वाचन जित्ने रणनीति बनाउन आकांक्षी नेताहरूको दौडधुप बढेको छ।

दोस्रो संविधानसभा निर्वाचनको नतिजाअनुसार महानगरपालिकाभित्र कांग्रेस अग्रस्थानमा रहेको अनुमान गरे पनि कांग्रेसभित्र गुट उपगुट, अन्तर्घात धेरै हुने भएकाले यसको फाइदा एमालेलाई पुग्ने बताइँदै आएको छ। साथै संविधानसभाको निर्वाचनमा राजसंस्था र हिन्दूराज्यको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत समानुपातिकतर्फ धेरै मत पाएको थियो। पहिलो संविधानसभासम्म राम्रो मत रहेको एकीकृत माओवादीको पक्षमा भने दोस्रो संविधानसभामा कम मत खसेको थियो।

स्थानीय निर्वाचनमा स्थानीय उम्मेदवारको क्षमता हेरेर पनि मतको घटबढ हुने भएकाले दोस्रो संविधानसभाको नतिजालाई मात्र आधार मानेर मतको हिसाब गर्दा नमिल्ने नेताहरूले बताउँदै आएका छन्। दलहरूले महानगरपालिकामा उम्मेदवार छनोट गर्दा जातीय सन्तुलनलाई ध्यान दिने बताएका छन्। उम्मेदवार छनोट गर्दा प्रमुखमा नेवार जातिको भए उपप्रमुखमा क्षेत्री बाहुन जातिबाट उम्मेदवार तय हुने बताइएको छ।

देशको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिककाको प्रमुख हुन नेपाली कांग्रेसबाट गगनकुमार थापा, राजुराज जोशी, प्रगतिमान रन्जित, कृष्णा अमात्य, नरोत्तम वैद्य, तीर्थराम डंगोल, हरिबोल भट्टराईलगायका नेताहरूको नाम चर्चा भइरहेको छ। कांग्रेसले उम्मेदवार छनोटका लागि सम्बन्धित क्षेत्र र जिल्लालाई नै जिम्मेवारी दिए पनि महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्दा केन्द्रीय हस्तक्षेप हुने निश्चित छ।

कांग्रेसभित्र काठमाडौं महानगरपालिकामा आफ्नो गुटको उम्मेदवार छनोट गर्न सभापति शेरबहादुर देउवा तथा नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला तथा प्रकाशमान सिंह पक्षका नेताहरू छुट्टाछुट्टै गुट बनाएर लागिपरेका छन्। काठमाडौं महानगरपालिकामा कांग्रेसले आफ्नो मुख्य प्रतिद्वन्द्वी एमालेलाई ठम्याएको छ।

एमालेले पनि काठमाडौं महानगरपालिकामा आफ्नो उम्मेदवार विजयी गराउन भित्री रणनीतिलाई तीव्रता दिएको छ। सक्षम, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध राख्न सक्ने, दूरदर्शिता सोच भएको, स्थानीय, लोकप्रियता कमाएको सबै कुरालाई ध्यानमा राखेर उम्मेदवार छनोट गर्ने जनाएको छ।

प्रदेशको सिफारिसमा केन्द्रले उम्मेदवारको अन्तिम टुंगो लगाउने भएको छ। एमालेभित्र कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, जीवनराम श्रेष्ठ, वसन्त मानन्धर, सानु श्रेष्ठलगायतको नाम चर्चामा छ। एमालेभित्र अष्टलक्ष्मी शाक्यको नाम चर्चामा आए पनि उहाँको मतदाता नामावली नागार्जुन नगरपालिकामा भएको बताइएको छ। एमालेले पनि आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस हुने अनुमान गरेको छ।

एमालले उम्मेदवार छनोट गर्दा जित्ने मात्र हैन टिक्नेलाई पनि प्राथमिकता दिने जनाएको छ। तत्कालीन अवस्थामा केशव स्थापितले एमालेका तर्फबाट निर्वाचन जिते पनि पछि एमालेलाई वास्ता नगरेको तथा ललितपुरमा बुद्धिराज वज्राचार्यले एमालेबाट चुनाव जितेपछि एमालेलाई वास्ता नगरेको एमालेभित्र उदाहरण दिने गरिन्छ।

वैचारिक रूपमा विचलन नहुनेले नै उम्मेदवारको टिकट पाउँछन् भन्दै एमाले नेता कृष्णगोपाल श्रेष्ठले भन्नुभयो– ‘यो निर्वाचनमा एमाले गुटगत राजनीति छोडेर जित्दा पनि हार्दा पनि एमालेप्रति बफादार रहने नेतालाई उम्मेदवार बनाइनेछ।’ गुटगत राजनीति गरे एमालेको सर्वनाश हुने भन्दै एमालेका शीर्ष नेताहरू अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा वामदेव गौतमबीच छलफल भई समझदारी बनिसकेको स्रोतको भनाइ छ।