राजधानीमा ट्रिएनाले

0
Shares

सिद्धार्थ आर्ट्स फाउन्डेशन, काठमाडौं नेपाल र स्माक (समकालीन कला संग्रहालय गेन्ट, (बेल्जियम) को आयोजनामा काठमाडौं ट्रिएनालेको पहिलो संस्करण राजधानीमा चलिरहेको छ।

शहरः मेरो स्टुडियो, शहरः मेरो जीवन विषयमा आधारित ट्रिएनालेमा २५ देशबाट करिब ७० कलाकारले सहभागिता जनाइरहेका छन्। यसको विषयले कला, शहर तथा यसको सम्पदा बीचको सम्बन्धमाथि समसामयिक चिन्तन गर्न उत्प्रेरित गर्ने आयोजकको आशा छ। प्रदर्शनी १२ वैशाख २०७२ को भूकम्पमा ज्यान गुमाएकाप्रति समर्पित रहेको आयोजकले जनाए।

यसअन्तर्गत कला र शहरीया जीवनबीच जटिल अन्तरक्रियातर्फ संकेत गरेको छ। काठमाडौंको विगत सम्झेर उदास हुनुभन्दा यसको वर्तमानलाई हेरी शहरमा परम्परा र आधुनिकताका जटिलता पाइने विषय यसमा उठाइएको छ। प्रदर्शनीले कलाकार र उसको कला तथा शहरबीचको जटिल तथा बहुमुखी अन्तरक्रियालाई प्रस्तुत गर्ने जनाइएको छ। प्रदर्शनीलाई सहभागी कलाकारले आफ्नो दर्शन, दृष्टिकोण, विचारलाई प्रस्तुत गर्ने एक क्यानभासको रूपमा उपयोग गरिरहेका छन्।

केही कलाकारले शहरी वातावरण र वास्तुकलालाई आफ्नो कलामा प्रस्तुत गर्दै शहरको विषयलाई प्रत्यक्षरूपमा सम्बोधन गरेका छन् भने अरूले शहरलाई एक सामाजिक संस्था, विभिन्न सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिबाट आएका मानिसले बनेको विविध र परिवर्तनशील प्राणीको रूपमा प्रस्तुत गरेका छन्।

कलाकारले जुन विचार प्रकट गर्न खोजे पनि काठमाडौंको सन्दर्भलाई प्रयोग गरेका छन्। सक्दो धेरै कलाकारलाई काठमाडौं निम्त्याएर काठमाडौं ट्रिएनालेको पहिलो संस्करणले शहर र कलाकारप्रति सम्मान व्यक्त गर्न खोजेको दाबी गरिएको छ। ट्रिएनालेका क्युरेटर स्माकका कला निर्देशक फिलिप भ्यान काउटरेन हुन्।