रंगकर्मी शर्मा दम्पतीलाई कलाश्री पुरस्कार दुर्गालाल सम्मानित

0
Shares

ख्यातिप्राप्त रंगकर्मी तथा कलाकार दम्पती हरिहर शर्मा र शकुन्तला शर्मा पहिलोपटक संयुक्तरूपमा पुरस्कृत भएका छन्। रंगमञ्चदेखि साना र ठूला पर्दाका फिल्मसम्म सजीव र जीवन्त अभिनयका कारण ख्याति कमाएको दम्पतीलाई राजधानीमा बिहीबार आयोजित एक समारोहबीच नेपाली कला साहित्य डट कम प्रतिष्ठानले नगद १ लाख रुपियाँसहित राष्ट्रिय कलाश्री पुरस्कार–२०७३ बाट सम्मान गरिएको हो।

शर्मा दम्पतीलाई नेपाली नाट्य तथा फिल्म क्षेत्रमा योगदान पुर्याएबापत सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। शर्मा दम्पतीलाई प्रमुख अतिथि साहित्यकार तुलसी दिवसले टीका, माला र खादा पहिराउनुका साथै प्रमाणपत्र र नगदबाट सम्मान गरेका थिए। पुस्कार ग्रहणपछि बोल्दै नेपाली फिल्म क्षेत्रका वासुदेव हरिहर शर्माले आफूले काम गर, फलको आशा नगर भन्ने गीतामा उल्लेख सन्देशलाई अनुशरण गर्दै ५२ वर्षदेखि फलको आशा नगरेरै नाट्य तथा फिल्म कर्ममा लागेको खुलाए। ‘आज हामी दुईले यो पुरस्कार ग्रहण गर्दै गर्दा खुसी र अचम्म दुवै अनुभव गरिरहेका छौं। नेपाली कला साहित्य डट कम प्रतिष्ठानले साहित्यमा लागेका व्यक्तिहरुलाई मात्र सम्मान गर्ने रहेछ भन्ने एक प्रकारको भ्रम थियो, तर त्यो होइन रहेछ’, शर्माले भने– ‘कहिलेकाहीं आफ्नो काम देखेर विरक्त पनि लाग्छ। तर, यस्तो कार्यक्रमले मल्हमको काम गर्छ। यो पुरस्कारले हामी दुई मात्र होइन सिंगो नाट्य र अभिनय क्षेत्र पुरस्कृत भएको छ। यो पुरस्कारले हामीलाई आफ्नो कर्ममा अझ जिम्मेवार भएर काम गर्ने उत्प्रेरणा दिएको छ।’ शर्माले कला र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो हुने चर्चा गर्दै कला संस्कृति, भाषा, साहित्य र संगीतले कुनै पनि राष्ट्रको सभ्यता बोक्ने बताए।

कार्यक्रममा कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई नेपाली साहित्यमा योगदान पुर्याएबापत राष्ट्रिय कलाश्री सम्मान–२०७३ बाट सम्मान गरिएको छ। सम्मान ग्रहण गरेपछि फूलको आँखामा फूलै संसारका स्रष्टा श्रेष्ठले आफू सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताए। ‘मैले यो सम्मान ग्रहण गर्दैगर्दा म कसरी यो सम्मानको योग्य भएँ, कतै आफू बुढो भएकाले त सम्मान पाएको होइन भन्ने लाग्यो। हो म बुढो भएकै हो। तर, मैले यति सुन्दर बुढ्यौली पाएँ कि जस्को सुन्दरताको कारण म आज यो सम्मानबाट विभूषित हुँदै छु –उनले भने। साहित्यकार तथा पत्रकार मणी लोहनीद्वारा सञ्चालित कार्यक्रममा साहित्यकार श्रेष्ठको जीवनी झल्काउने भिडियोसमेत प्रस्तुत गरिएको थियो।

सो अवसरमा संस्थाकी अध्यक्ष ममिला जोशी तथा ईश्वर जोशीद्वारा आफ्ना मातापिताको नाममा स्थापित स–सिद्दी राष्ट्रिय कलाश्री युवा पुरस्कार ५० हजार रुपियाँ नगदसहित युवा कवि मनु मञ्जिललाई प्रदान गरियो भने शिक्षासेवी तथा सभासद् उमेश श्रेष्ठले आफ्नो आफ्ना पिताको नाममा स्थापना गरेको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट नगद २५ हजारसहित साहित्यकार तथा पत्रकार शशी लुमुम्बुलाई पुरस्कृत गरिएको छ।

प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मोमिला जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका उपाध्यक्ष तथा कवि राजेश्वर कार्कीले कला र साहित्यले कुनै पनि राष्ट्रलाई विश्वसामु चिनाउने चर्चा गर्दै नेपाली कला तथा साहित्य क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका व्यक्तित्वहरुलाई सम्मानको परम्परा जारी राखिएको बताए।