उपराष्ट्रपतिबाट पुष्पमेलाको उद्घाटन


काठमाडौँ, १७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले खेरगइरहेको सार्वजनिक जग्गाको उपयोग गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्पमेला प्रदर्शनी’ को उद्घाटन गर्दै सो आग्रह गर्नुुभएको हो ।

उहाँले क्षेत्र पहिचानका आधारमा कुनै एक क्षेत्रलाई पुष्पखेतीको पकेट क्षेत्रका रुपमा विकास गरी पुष्प आयात प्रतिस्थापन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।

यसअघि विसं २०५७ र २०७० मा अन्तर्राष्ट्रिय पुष्प मेला भइसकेका छन् । यसवर्ष आजदेखि सुरु भएको पुष्पमेला चैत २० गतेसम्म सञ्चालन हुने र मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता रहेको छ ।

‘शान्ति समृद्धि तथा स्वच्छ वातावरणकोे लागि पुष्प व्यवसाय’ नाराका साथ सुरु भएको मेलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश छन् । मेला कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनमा भएको हो ।

कार्यक्रममा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले क्रमशः कृषिको परनिर्भरता कम गर्ने बताउनुभयो ।

मेलामा ४५० मौसमी पूmल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीको प्रदर्शनी छ ।

एसोसिएसनले मेला अवधिभर ६५ हजार अवलोकनकर्ता तथा रु ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरेको छ ।

नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय आर्थिक वर्ष २०७२÷७३ सम्म पुग्दा ३९ जिल्लामा विस्तार भएको छ । करिब ६७८ पुष्प व्यवसाय व्यावसायिक रुपमा अगाडि बढेका छन् । लगभग दुई हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्पखेतीबाट लाभान्वित भएका छन् ।

नेपालले पुष्पखेती व्यावसायिक ढङ्गले सुरुवात गरेको झन्डै २३ वर्ष पुगिसकेको छ । तर आत्मनिर्भर भएको छैन । यहाँ विभिन्न जातका पुष्प भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेविया, इटालीलगायतका मुलुकबाट आयात भइरहेको छ ।

बजारमा पुष्पको माग बढेको छ । आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन । हाल नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन । युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिने सम्भावना छ ।
रासस