पुरानो एम्बुलेन्स ‘सेक्सेलेन्स’ बन्यो


कोपनहेगन, (एजेन्सी)
कोपनहेगनमा यौनकर्मी महिलालाई आफ्नो ग्राहकसँग समय बिताउने सुरक्षित गन्तव्यका लागि सेकेन्डह्यान्ड एम्बुलेन्सको प्रयोग गरिनथालेको छ। एक जना डेजिस सामाजिक उद्यमीको परिकल्पनाअनुसार देहव्यापारी महिलाहरूलाई यौन शोषण र हिंसाजस्ता खतराबाट बचाउनका लागि प्रयोगमा ल्याइएका यस्ता सेकेन्डह्यान्ड एम्बुलेन्सको नाम ‘सेक्सेलेन्स’ राखिएको छ।

माइकल लोडवर्ग ओल्सन नामक ती उद्यमीले सञ्चालनमा ल्याएको सो सवारीसाधन अझै पनि धेरै हिसाबले एम्बुलेन्स जस्तै देखिन्छ। त्यसभित्र पोतिएको खरानी रंगको भित्ता र नीलो सिटले एम्बुलेन्सकै झल्को दिन्छ। उनी हाँस्दै यसभित्र सेक्स हुने गरेको निर्धक्क बताउँछन्।

कोपनहेगनका यौनकर्मीहरूका लागि सुरक्षित स्थलका रूपमा विकास गरिएको यस्तो पुरानो एम्बुलेन्समा तिनीहरूले ग्राहक ल्याउन सक्ने र कुनै गडबड हुन नदिन वरपर स्वयंसेवक खटिने गरेको पनि ओल्सन बताउँछन्। डेनमार्कमा ४५ प्रतिशत यौनकर्मीहरू हिंसा र डर धम्कीको शिकार हुने गरेको सरकारी तथ्यांक रहेको छ।

तर, बेश्यालयमा भने यो तथ्यांक ३ प्रतिशतमै सीमित रहेको छ। ओल्सनले अवैध बेश्यालय प्रयोग गर्ने पहुँच नभएका र सडकमै यौन व्यापार गर्न बाध्य महिलाहरूलाई ध्यानमा राखेर सेक्सेलेन्सको अवधारणा विकास गरेका हुन्। तिनीहरूले यसलाई निशुल्क प्रयोग गर्न सक्छन्। सन् १९९९ देखि डेनमाकमा बेश्यावृत्तिलाई वैध घोषित गरिएको हो।

तर, एउटा अनौठो कानुनी अड्चन तिनीहरूसामु विद्यमान छ। आफ्नो व्यवसाय चलाउन यौनकर्मी महिलाहरूले कोठा भाडामा लिनेलगायत अन्य सहयोग लिन खोज्नु गैरकानुनी ठहर हुनेछ। उक्त सेक्सेलेन्सभित्र भित्तामा ‘त्यहाँ कुनै हिंसाको संकेत पाइएमा प्रहरी बोलाइनेछ।’ भन्ने सूचना टाँस गरिएको छ।

साथै यौनकर्मीहरूलाई पनि यदि आफूहरू मानव तश्करहरूको शिकार हुन खोजेको महसुस भएमा तत्काल प्रहरीसँग सम्पर्क गर्न प्रोत्साहित गरिएको छ। प्रायः ठण्डा मौसम हुने हँुदा सेक्सेलेन्सभित्र बाह्य जेनेरेटर प्रयोग गरी हिटरको व्यवस्था गरिएको छ।

साथै त्यसभित्र यौनकार्यपछि सरसफाइ गर्ने सामग्री, तीन वटा कन्डमको विकल्प र ल्युब (तैलीय पदार्थ) को समेत व्यवस्था गरिएको छ। सन् २०१६ को नोभेम्बरमा पहिलोचोटी सेक्सेलेन्स शुरु गरिँदा ओल्सनलाई त्यो चल्लाजस्तो लागेको थिएन। शुरुमा मानिस त्यसको प्रयोग गर्न रुचाउँदैन थिए। तर, अहिले दिनमा कम्तीमा पनि ४५ पटक यसको प्रयोग हुन थालेको छ।

अचेल यौनकर्मी र ग्राहक दुवैले यसलाई सहज र आरमदायी मान्न थालेको पनि ओल्सन बताउँछन्। उनी हाँस्दै भन्छन्– ‘अब त यौनकर्मी महिला त्यसभित्र रातो कार्पेट बिछाइयोस्, पर्दा र ऐना हालोस् र सकेसम्म आकर्षक र आरामदायी बनाइयोस् भन्ने चाहन्छन्।’